बिर्तामोड । नेपाल आदिवासी जनजाति महासंघ झापा समन्वय समितिले २५औँ विश्व आदिवासी दिवस भव्यरुपले मनाउने तयारी गरेको जनाएको छ ।
आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी २५औँ दिवस कमल गाउँपालिकाको आदिवासी रंगशालामा साउन २४ गते ऐतिहासिकरुपमा मनाउने तयारी गरिएको महासंघका अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए । झापामा २५ वटा आदिवासी, जनजाति जातीय संस्था र नगरमा रहेका महासंघसँगको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको उनको भनाइ थियो ।
‘यसपालिको दिवस अधिकार खोसिएको, सामाजिक र शिक्षा क्षेत्रमा आरक्षण कोटा हटाइएकोप्रति केन्द्रित रहनेछ’, उनले भने, ‘आदिवासी दिवसकै दिन हामी आन्दोलन घोषणा गर्छौं ।’
नेपाल सरकारले अन्तर्राष्ट्रिय कानुन माने पनि व्यवहारमा नभएकाले आन्दोलन जारी रहेको भन्दै आदिवासी रंगशालाको नाम परिवर्तन गरिएकोप्रति पनि उनले रोष प्रकट गरे । हजारौँ आदिवासी जनजातिका पुर्खाको अस्तित्व नामेट हुनेगरी गरिएको नाम परिवर्तनको कडा विरोध गरेका उनले आदिवासी रंगशालाको कुनै पनि विकल्प स्वीकार्य नहुने दाबी गरे ।
‘संघीयता र स्वायत्ततासहितको पहिचान, संविधानसहितको हाम्रो आन्दोलन’ नारासहित मनाइने विश्व आदिवासी दिवसको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।