झिलझिले । कनकाई पुल पश्चिम कमल खोलाबीचको ११ किलोमिटर राजमार्गसँग जोडिएका शिवसताक्षीका १२ वटा भित्री सडक कालोपत्रे गरिएका छन् । स्थानीय शिवसताक्षी नगरपालिका, १ नम्बर प्रदेश सरकार र संघीय सरकारको लगानीमा एसियन राजमार्गसँग जोडिएका शिवसताक्षी नगरका भित्री सडक कालोपत्रे गरिएको हो ।

सडक कालोपत्रे कार्यमा प्रतिनिधिसभाका सांसद एलपी साँवा लिम्बू र प्रदेशसभाका सांसदद्वय झलकबहादुर दर्लामी मगर र हिरा थापाको सांसद पूर्वाधार क्षेत्र विकास कोषको रकम पनि लगानी भएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएका शिवसताक्षी नगरका १२ वटा सडक कालोपत्रे भएका छन् । नगरको १ नम्बर वडास्थित धरमपुर-पारावारी सडक, ८ नम्बर वडाको डुडामारी-पाँचगाछी सडक कालोपत्रे भएको छ । वडा नम्बर ८ कै सम्झना चोक-गुराँस चोकसम्मको सडक पनि कालोपत्रे निर्माण सकिएको छ । ८ नम्वर वडाको झिलझिले बजारका पूर्वपश्चिम राजमार्गसँग जोडिएका ४ वटा सडक पनि कालोपत्रे गरिएको वडा अध्यक्ष केहरशिंह बस्नेतले बताएका छन् ।

यस्तै वडा नम्बर ११ को दूधे-शिवगञ्ज सडक कालोपत्रे भएको छ भने दूधे-बच्चावगर सडक कालोपत्रेको निर्माण चरणमा रहेको शिवसताक्षी नगरपालिकाका प्रवक्ता नविन इजमले बताए । वडा नम्बर ९ को संगम चोक-आइतबारे, वडा नम्बर १० को किरातचोक दक्षिण श्रीजंघा र माईधार-लक्ष्मी नारायण मन्दिर सडक खण्ड पनि कालोपत्रे निर्माण सकिएको प्रवक्ता इजमले बताए ।

पछिल्लो पटक संघ सरकारको अर्थमन्त्रालय र शिवसताक्षी नगरपालिकाको साझेदारीमा वडा नम्बर ८ को सम्झना चोक दक्षिीण गुराँस चोकसम्मको करिब २ किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । अर्थ मन्त्रालयको ४० लाख र शिवसताक्षीको ६० लाख गरी १ करोडमा नगर कार्यपालिकाको कार्यालयले ठेक्का आह्वान गरेको थियो ।

मेचीनगरको शान्ति निर्माण सेवाले ४८ प्रतिशत बिलोमा ठेक्का पारेपछि १५ सय मिटर सडक कालोपत्रे निर्माण सम्पन्न भएको हो । ५२ प्रतिशत बचेको रकममा पुनः त्यस दक्षिणको गुराँस चोकसम्मको सडकको ठेक्का पुनः नगरपालिकाले आह्वान गरेको थियो । उक्त ठेक्का स्थानीय सतासी निर्माण सेवाले पाएको प्रवक्ता इजमले बताएका छन् ।

मन्त्रालयको समपूरक कोषको उक्त रकम फिर्ता जान नदिन नगरपालिकाले दुई चरणमा ठेक्का आह्वान गरी समयमै गुणस्तरयुक्त सडकको कालोपत्रे कार्य गरेको स्थानीय डम्बरबहादुर मेन्याङ्गवोले बताए । उनका अनुसार स्थानीयले चाहेको भन्दा गुणस्तरयुक्त काम तोकिएकै समयमा सम्पन्न भएको छ ।

उक्त सडकको बुधबार शिवसताक्षी नगरपालिकाको वडा नम्बर ८ का वडा अध्यक्ष केहरसिंह बस्नेत, वडा सदस्य चुडामणी सिवाकोटी, वडा सचिव पुष्पलाल पाण्डे लगायत स्थानीय उपभोक्ताले संयुक्तरुपमा अनुगमन गरेका थिए ।