झापा । झापाको गौरीगञ्ज १ स्थित होक्लाबारी वस्ती दुई नदीको कटानका कारण टापुमा परिणत भएको छ। हरेक वर्ष कटान हुँदै आएको यस वस्ती अझै पनि उच्च जोखिममा रहेको स्थानीय बताउँछन्। वर्षायाममा यहाँ अन्य क्षेत्रमा आवत जावत गर्नसमेत समस्या हुने गरेकोले सम्बन्धित निकायले तटबन्धन गरी दिगो समधान गर्नुपर्ने उनीहरूको माग छ।
पूर्वमा कन्काई र पश्चिममा कमलबनियानी चेपुवामा परेका यस भेगका बासिन्दाको प्रत्येक वर्षको यो टाउको दुखाइको विषय बन्ने गरेको छ। गत असार २८ गते वर्षासँगै आएको बाढीले झापाको गौरीगञ्ज गाउँपालीका १ माहाभरास्थित होक्लाबारीमा कन्काई नदीले बाँध भत्काएर गाँउ पस्दा ९० घरका परिवार विस्थापित भएका थिए।
कन्काई नदीले धार परिवर्तन गरी करिब ५ सय मिटर बाध भत्काउँदा धान रोपाइ गरेको करिब सयौँ बिघा बढी जमिन कटान गरेको भए पनि कतैबाट सहयोग नपाएको स्थानीयको गुनासो छ। स्थानीय ७८ वर्षीय हर्कराम जिमीको डेड बिघा जमिन बगाएको दुखेसो पोखे।
गएको असारको अन्तिम साता आएको बाढीबाट विस्थापित भएका स्थानीय विद्यालय तथा सामाजिक संस्थाका भवनमा पुगेका थिए। अहिले नदीको बहाव घटेकाले आ-आफ्नो घर फर्किएका छन्।
तर, पनि अन्न पात भने स्थानीय विद्यालयमा नै राखेकाले विद्यार्थीलाई अध्यापन गराउन समस्या भएको इन्देणी प्राथामिक विद्यालयकी शिक्षिका डम्बरकुमारी खतिवडाले बताइन्। कन्काई नदीले साबिकको स्थानभन्दा १ किलोमिटर पश्चिमतर्फ धार परिवर्तन गरि कटान गरेको हो।
झापा जिल्ला कै ठूलो नदी भएकोले यहाँ पानीको बहाव धेरै हुने गर्दछ। स्थानीय सरकारको बजेटले मात्र नपुग्ने भएकोले प्रदेश र संघीय सरकारसँग पहल गरेर यो कटान क्षेत्रलाई पानीको बहाब घटेपछि यो समस्याको समधान गर्ने गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए।
विस्थापितले पाए राहत
झापाको गौरीगञ्ज १ महाभारास्थित होक्लाबारीका बाढी पीडितलाई राहत प्रदान गरिएको छ। प्रदेश १ इसाई समाजले उनीहरूलाई राहत वितरण गरेको हो। पीडितलाई त्रिपाल, टर्चलाइट, म्याट, ब्लाङकेट, खाद्यान्नलगायत सामग्री गरी ९० घरलाई प्रतिपरिवार ५ हजार मूल्य बराबरको सामग्री वितरण गरेको कार्यक्रम संयोजक तथा इसाइ समाज झापाका अध्यक्ष अम्मरदीप आले मगरले बताए।
सो अवसरमा इसाइ समाज प्रदेश १ का अध्यक्ष विक्रम वर्णबास लिम्बू, दमक इसाइ समाजका अध्यक्ष आकाश थुलुङलगायतको सहभागिता थियो। थाहाखबरबाट