धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निःशुल्क पार्किङ परिसरमा रहेको सखुवाको रुख अचानक ढलेर दुई जना घाइते भएका छन् ।

घाइते दुवैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्द्र तामाङले जनाए । उनका अनुसार घाइते हुनेमा जनकपुर ३ का जितेन्द्र यादव र उनका पत्नी अन्जली यादव हुन् ।

प्रतिष्ठानको पियाआईसियूमा छोरा ऋतिक यादवको उपचार गराइरहेका उनीहरुलाई बाटोमा हिँड्दा हिँड्दै रुख ढलेर किचेको हो । यसैबीच, मानवीयताको हिसाबले घाइते दुवै जना र बिरामी छोराको औषधि र उपचार खर्च निःशूल्क गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा. गौरी शंकर साहले बताए ।

रुखले पार्किङ गरेर राखेको धरान १५ मिलन पथका बाबुराम राईको को.२ ह ५५७५ नम्बरको टेम्पोलाई समेत पूर्णरुपले क्षति पुर्याएको छ । सूचना अधिकृत तामाङले रुख ढलेर ठूलो एवम् अप्रिय क्षति नभएको भएता पनि भविष्यमा हुनसक्ने दुर्घटना रोक्न प्रतिष्ठान पसिरमा रहेका बुढो रुखहरुको कटान गरी नयाँ वृक्षारोपण गर्नुपर्ने आवश्यकता रहेको बताए ।