धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनिघाट रोराङ-३ सलाङघाटस्थित त्रिशुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । १२ जनाको उद्धार गरिएको छ । २५ अझै बेपत्ता छन् ।
ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान साढे ३ बजेतिर त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । बसमा ४० जना यात्रुहरु रहेको प्रारम्भिक अध्ययनबाट पत्ता लागेको घटनास्थलमा उद्धार गर्न पुगेका पमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए ।
बस आधा पानीमै डुबेको छ । अप्ठ्यारो स्थानमा दुर्घटना भएकोले सुरक्षा निकाय र स्थानीयवासीहरुको सहयोगमा ३ जनाको शव निकालिएको र १२ जनाको जिवितै उद्धार गरिएको प्रजिअ पाण्डेले बताए । मृतकहरु मध्ये २ जनाको मात्रै सनाखत भएको छ । सर्लाहीका ३५ वर्षीय अजय दास र विजयकुमारको मात्रै शव पहिचान भएको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका घाइतेहरुलाई स्थानीय मलेखुस्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ । बसमा सवार करिब २५ जनाको खोजीका लागि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिम परिचालन गरिएकोछ ।