झापा। झापाको बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार बिर्तामोड-भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड-३ सैनिक मोडमा खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको हो । महिला नालीमा कसरी डुबिन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । निर्माणाधीन सडकको छेउको नालीमा राईको शव तैरिरहेको देखेपछि स्थानीयले शुक्रबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

यसैबीच, सडक ठेकेदारको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै स्थानीयले विरोध जनाउँदै उक्त सडकखण्ड केहीबेर बन्द गराएका थिए ।