झापा । सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै झापाको बिर्तामोडमा अहिलेसम्मकै विशाल प्रदर्शन गरिएको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानुनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा शनिबार झापाको बिर्तामोडमा स्वस्फूर्तरुपमा स्थानीयले ¥याली निकालेका हुन् ।
¥याली बिर्तामोड बजार परिक्रममा गरी मुक्तिचोकमा आएर कोणसभामा परिणत भएको थियो । सञ्चारकर्मी लामिछानेलाई विभिन्न बहानामा फसाउन खोजिएको भन्दै होसियार रहन उनीहरुले ¥याली र कोणसभामार्फत् खबरदारी समेत गरेका छन् ।

उनीहरुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्नेमा पनि जोड दिए । सहभागीले नेपालको राष्ट्रिय झण्डासहित ‘राष्ट्रका सपूत रवि लामिछानेको साथमा हामी छौँ’ लेखिएको ब्यानर लिएर ¥यालीमा उत्रिएका थिए । ¥यालीमा निर्दोषलाई फसाउन पाइँदैन, पत्रकार पुडासैनीलाई न्याय दे, हत्यालाई आत्महत्या भन्न पाइँदैन, विधिको शासन कायम गर, रवि लामिछानेलाई बिना सर्त रिहा गर, रवि लामिछाने जिन्दावाद जस्ता नारा लगाएका थिए ।
न्युज २४ टेलिभिजनबाट प्रशारण हुने चर्चित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछाने उनका सहकर्मी युवराज कँडेलसहित ३ जनालाई चितवन प्रहरीले साउन ३० गते पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ गरेको थियो । जिल्ला अदालत चितवनले गत मंगलबार उनीसहित ३ जनालाई पुनः ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएपछि झापामा प्रदर्शनको श्रृंखला बढिरहेको ।