लक्ष्मी उप्रेती,
झापा । असार शुरुमै झापाको मेचीनगरमा २ जनामा डेंगु ज्वरो देखिएको थियो । त्यसलगत्तै मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले संक्रमण बढ्न नदिन धेरै काम गर्यो । असार शुरुमा मेचीनगर-९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमाछोरामा देखिएको डेंगुको संक्रमण अहिले एक सयभन्दा बढीमा देखिएको छ । सबैभन्दा बढी मेचीनगर-६ मा डेंगु रोगी रहेको शाखाले जनाएको छ । यो वडामा कम्तिमा ५० जनाभन्दा बढी डेंगुका रोगी छन् । घरपिच्छै डेंगुका ज्वरोका रोगी रहेको शाखाको भनाइ छ ।

यसअघि मेचीनगरको चारआली र धुलाबारी डेंगुको उच्च जोखिममा थियो । स्वास्थ्य शाखाले नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियान शुरु गरेपछि १३ नम्बर वडाको चारआलीमा अत्यधिकरुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रशस्त लामखुट्टेका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च जोखिममा रहेको शाखा संयोजक शशीकला राईको भनाइ छ । स्वास्थ्य शाखाले यसको संक्रमणबाट बच्न सर्वसाधारणसमेत सचेत हुनुपर्ने भएकाले त्यतर्फ लाग्न नगरबासीमा आग्रह गरेको छ । नगरपालिकाले धुुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, काँकरभिट्टा स्वास्थ्य चौकीमा समेत डेंगु परीक्षण गर्ने कीट उपलब्ध गराएको छ ।

मेचीनगरमा संक्रमण दर बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखासहित स्वास्थ्यकर्मीहरुको सम्पूर्ण शक्ति परिचालन गरेको थियो । डेंगु संक्रमित फेला परेलगत्तै नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामुलक पर्चा पम्प्लेट वितरण, माइकिङ तथा रेडियो टेलिभिजनमार्फत चेतनामुलक सूचना प्रशारण गरिरहेको शाखा सहसंयोजक रामनारायण यादवको भनाइ छ । संयोजक राईका अनुसार सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाइमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हुन्छ ।

एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्ने उनको भनाइ छ । नगरमा डेंगु संक्रमित बढेपछि नगरप्रमुख विमल आचार्यले प्रत्येक वडाका जनप्रतिनिधिलाई आआफ्नो वडाको पछिल्लोे अवस्थाका बारेमा जानकारी गराउन पत्राचार गरेको बताइएको छ ।

वडाबाट प्राप्त प्रतिवेदनअनुसार नगरले थप काम गर्ने शाखाले जनाएको छ । डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानसहित अन्य काम गरिरहेको हुँदा यस काममा सहयोग गर्न जनप्रतिनिधि, आमा समूह, टोल, विकास संस्थाका प्रमुख प्रतिनिधिलाई नगरपालिकाले आग्रह गरेको छ । आफ्ना घरवरिपरि लामखुट्टे मार्ने औषधि छरे, शरीर पूरै ढाग्ने कपडा लगाए, झुल लगाएर सुत्ने गरे, लामखुट्टे भगाउने धुप प्रयोग गरे, सरसफाइमा विशेष ध्यान दिएर पानी जम्मा गर्ने भाँडाकुडामा कम्तिमा हप्तामा एकपटक सफा गरे, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुरे डेंगुबाट बच्न सकिने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

डेंगुका बिरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउनेजस्ता लक्षण देखा पर्ने हुँदा यस्तो लक्षण देखा परे स्वास्थ्य केन्द्र जान समेत स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । संक्रमितले चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि लिने, प्रशस्त आराम गर्ने, झोल खानेकुरा खाने गर्नुपर्ने उनीहरुको सुझाव छ ।