झापा । आर्थिक प्रलोभनमा परी १६ जना गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल ,प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् ।

पक्राउ परेका लोकराज बराल बिर्तामोड नगरपालिका–८ का वडा सचिव हुन् । उनीहरूलाई आइतबार दिउँसो सिआइबी र प्रहरी कार्यालयको टोलीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनले घटनामा संलग्न अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिन बाँकी रहेकाले सबै कुरा भन्न नमिल्ने बताए । झापामा भद्रपुर र बिर्तामोडका वडा अध्यक्षसहित कर्मचारीले १६ जना तिब्बती नागरिकलाई नागरिकता दिएको घटना बाहिरिएपछि गृह मन्त्रालय र सिआइबीले छानबिन सुरु गरेको बताइएको छ ।