अर्जुनधारा । हरितालिका तीजको अवसर पारेर नेपाल उद्यमशील महिला संघ अर्जुनधारा नगर समितिले एक जना महिला उद्यमीलाई सोमबार सम्मान गरेको छ ।
अर्जुनधाराको शनिश्चरे चोकमा आयोजित तीज विशेष कार्यक्रममा संघले स्थानीय महिला उद्यमी मीनाकुमारी सार्कीलाई सम्मान गरेको हो । तीज पर्वलाई नाचगानको रुपमा मात्र नलिएर संघले शनिश्चरे बजारमा जुत्ता चप्पलको उत्पादन गरेर कारोबार गर्दै आएकी उद्यमी सार्कीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
समितिकी अध्यक्ष सरु बुढाथोकीको अध्यक्षता र अर्जुनधारा-८का वडाध्यक्ष गोपीचन्द्र गौतमको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष देवीमाया पोखरेलले व्यक्त गरेकी थिइन् ।

त्यसैगरी कार्यक्रमका सहभागीहरुले तीज विशेष गीत तथा नृत्यसँगै संगिनी गीत पनि प्रस्तुत गरेका थिए । कार्यक्रमका सहभागी व्रतालुहरुलाई लक्षित गरी संघले सर्वत पानीको व्यवस्थापन पनि गरेको थियो ।
कार्यक्रममा संघका सल्लाहकार चर्तुभूज काफ्ले, दिपीन राई र देवकला प्रसाईं, अग्रज महिला समाजसेवी कुसुम राई, मिश्राकुमारी राई र ज्ञानकुमारी थापालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन समितिकी सदस्य गीता अधिकारीले सञ्चालन गरेकी थिइन् ।