झापा । नेकपा निकट युवा संघ नेपालका शिवसताक्षी नगर अध्यक्षमाथि बुधबार बिहान छुरा प्रहार भएको छ । झापाको शिवसताक्षी नगरपालिका बडा नम्बर ८ को वडा कार्यलयमा वडा अध्यक्षसँग कुरा गरिरहेको अवस्थामा युवा संघका नगर अध्यक्ष सुरज रिङ्गालुङ्ग राईमाथि छुरा प्रहार भएको हो ।

प्रहरीका अनुसार स्थानीय २२ वर्षीय सागर तिम्सिनाले राईमाथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका राईको बिर्तामोडको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । वडा अध्यक्ष केहरसिंह बस्नेतले भने, ‘म संग समसामयिक विषयमा कुरा भइरहेको थियो । सागर आएर दाहिने तर्फको कोखामा दुई पटक छुरा हाने ।’

घाइते राई खतरामुक्त रहेको बिएण्डसी अस्पताल बिर्तामोडले जनाएको छ । छुरा प्रहार के कारणले भयो भन्नेबारेमा केही खुल्न सकेको छैन । तिम्सिनालाई इलाका प्रहरी कार्यालय झिलझिलेको प्रहरी टोलीले तत्कालै गिरफ्तार गरेको छ ।

तस्वीर घाइते राईको फेसबुकबाट ।