अर्जुनधारा । आफ्नै शरीरमा आगो लगाएर झापामा एक भारतीय नागरिकले देहत्याग गरेका छन्। आगो लगाएर मृत्यु हुनेमा भारत पश्चिम बंगाल दार्जिलिङ जिल्ला पानीटंयाकी बस्ने २३ वर्षीय विश्वनाथ बर्मन रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिप्रका झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार अर्जुनधारा नगरपालिका ६ महानन्दचोक नजिकै पूर्वेली टोलस्थित प्रदीप गिरीको फर्निचर उद्योगमा भारतीय नागरिक बर्मन काम गर्दै आइरहेका थिए। काम गर्ने सिलसिलामा बिहीबार दिउँसो तारपिनको तेल र स्प्रिट शरीरमा खन्याई शौचालयको ढोका बन्द गरी शरीरमा आगो लगाएका थिए।
शरीर आगोले जलेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए। यता, घटनाको विषयमा थप जानकारी लिन इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी नायब उपरीक्षकसहितको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।