इलाम । डा. देवी क्षेत्री दुलालद्वारा लिखित नाटक ‘काले दमाई’ र कवि वालिका थपलियाको कविता संग्रह ‘प्रणयपथ’ एकसाथ विमोचन गरिएको छ । चेतना नाट्य समुहको आयोजनामा इलाम सदरमुकाममा भएको कार्यक्रममा प्राडा गोविन्दराज भट्टराईले दुवै कृतिको विमोचन गरेका हुन् ।
डा. दुलालको काले दमाई १८औँ कृति हो । थपलियाको पहिलो कविता संग्रह हो । उनले दुई वटा जीवनी नेपालीमा अनुवाद गरेकी छिन् । नेलसन मण्डेला र हेलेन केलको जीवनीको नेपाली भाषा अनुवाद गरेकी छिन् । कविता संग्रहमा एक सय तीन कविता रहेका छन् । डा. दुलालले नेपाली राणाकालीन समयका समाजसेवी काले दमाईका बारेमा नाटक लेखेका हुन् ।
पुस्तकको बिमोचन गर्दै प्राडा जोशीले काले दमाई नाट्यकृति फरक धारको साहित्यिक कृति रहेको उल्लेख गरे । ‘यो कृतिले इतिहासलाई जीवन्त बनाएको छ’, उनले भने, ‘फरक धारको साहित्य अध्ययन गर्नेहरुले यो कृतिलाई छाडे अध्ययन नै अपुरो हुनेछ ।’
थपलियामा भाषाको राम्रो दखल भएको उनको कृतिमा समावेश भएका कविता सशक्त भएको टिप्पणी गरे । ‘थपलियााको कविता संग्रहमा रहेका कविताले प्रेमका गहिरो अुभूति गराउँछ’, उनले थपे, ‘कविता लेखनमा शक्ति छ ।’ विमोचन कार्यक्रममा कवि थपलियाले ‘अक्षरको अंकुरण’ शीर्षकको कविता बाचन गरेकी थिइन भने डा. दुलालले नाटकमा भएको संवाद सुनाएका थिए ।
दुवै कृतिका बारेमा रविमान लम्जेलले टिप्पणी गरेका थिए । कार्यक्रममा प्राडा अञ्जना अवस्थी, व्यञ्जना शर्मा, लेखक मुक्ति बराल, युद्धप्रसाद वैद्य, विमल वैद्य लगायतले लेखकका बारेमा बोलेका थिए । कार्यक्रम चेतना नाट्य समुहका अध्यक्ष सुरेश पोर्तेलको अध्यक्षतामा भएको हो ।