भद्रपुर । सरसफाई प्रवद्र्धन र वातावरण संरक्षणमा सचेतनामूलक गतिविधि गर्दै आएको झापाको भद्रपुरस्थित क्लिन झापाले तेस्रो साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको छ ।

इलामको पर्यटकीय स्थल श्रीअन्तुमा संस्थाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । सचिव विशाल अधिकारीले सञ्चालन गरेको साधारणसभामा अध्यक्ष उपाध्यायले क्लिन झापाले हालसम्म गरेका कार्यहरुको विवरण पेश गरेकी थिइन् ।
साधारणसभाले पुनः शान्ति उपाध्यायलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी ३ वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको उपाध्यक्षमा मेचीनगरका सन्तोष न्यौपाने, सचिवमा बिर्तामोडका रुद्रबहादुर न्यौपाने, सहसचिवमा भद्रपुरका विशाल अधिकारी र कोषाध्यक्षमा भद्रपुरकै विजय भट्टराई रहेका छन् भने सदस्यमा खरखरे धिमाल, मोतीदेवी श्रेष्ठ, ऋषि चापागाईं र बाबुराम पराजुली रहेको निर्वाचन समितिले जनाएको छ ।

सचिवमा चयन भएका रुद्रबहादुर न्यौपाने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाबाट सेवानिवृत्त कर्मचारी हुन् । झापाको खुला दिसामुक्त अभियानमा कार्यालयको तर्फबाट फोकल पर्सनको रुपमा सरसफाइ प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका न्यौपाने झापा खुला दिसामुक्त घोषणा समारोहमा ‘सरसफाई योद्धा’का रुपमा सम्मानित व्यक्तित्व हुन् ।