काँकरभिट्टा । समुदाय स्तरमा विपद्प्रति कार्यसम्बन्धी सचेतना अभिबृद्घि गर्ने उद्देश्यले दुई दिने सामुदायिक विपद् सचेतनामुलक कार्यक्रम शुक्रबारदेखि झापाको मेचीनगरमा शुरु भएको छ । कार्यक्रम शनिबार समापन हुनेछ ।

नेपाली सेनाको नयाँ श्रीनाथ गण चारआली व्यारेकको प्राविधिक सहयोगमा मेचीनगर नगरपालिकाले आफ्नै सभाकक्षमा कार्यक्रम शुरु गरेको हो । नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक विमल आचार्यले उद्घाटन गरेको कार्यक्रममा नेपाली सेनाका सहसेनानी सुरज कट्वालले विपद् व्यवस्थापनका बारेमा सहजीकरण गरेका छन् । उनले सहभागीहरुलाई विद्यमान राष्ट्रिय विपद् व्यवस्थापनको संरचना तथा संयन्त्रका बारेमा जानकारी गराउँदै सबैभन्दा पहिला गृह मन्त्रालयको निगरानमिा केन्द्रदेखि क्षेत्र र जिल्ला तहसम्म दैवी प्रकोप उद्घार समितिको संरचना रहेको बताए ।

उनले रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाका प्रधानसेनापति अध्यक्ष तथा रथी, उपरथी, पृतनापति, बाहिनीपति तथा गणकोे गुल्मपति सदस्य रहने प्रावधान रहेको बताए । उनले विपद् उद्धार कार्यमा सैनिक सहयोगको कार्यक्षमता तथा घटनास्थलमा स्थपना गरिने प्वाइन्ट तथा विपद् उद्घार कार्यमा नेपाली सेनाको भूमिकाका बारेमा समेत चर्चा गरे ।

नेपालमा हुन सक्ने विपद्हरुमा भूकम्प, बाढी, पहिरो, हिमपात, खडेरी, महामारी, डढेलो, आगोलागी ,चट्याङ्ग तथा हिमपहिरोका बारेमा समेत सहभागीहरुलाई जानकारी गराए । विपद्को वर्गीकरण तथा उद्देश्यका बारेमा प्रकाश पार्दै विपद्मा प्राथमिक उपचारको व्यवस्थाका बारेमा जानकारी गराए ।

कुनै पनि इलाकामा पानीको सतह बढेर उच्च बहाव भई वा धेरै मात्रामा पानी जम्मा भई जमीनको भूभाग डुबानमा परेको अवस्थालाई बाढीको संज्ञा दिइने बताउँदै सहसेनानी कट्वालले नदी वा तालहरुमा पानीको सतह बढ्न गई आफ्नो भइरहेको वास्तविक किनाराहरुलाई नाघी अन्यत्र जमीनका भूभागहरु डुबाएको अवस्थामा बाढीको स्थिति सिर्जना हुने जानाकरी दिए ।

यद्यपि ऋतु परिवर्तन, वर्षा, हिमपात तथा हिउं पग्लिने जस्ता कारणले गर्दा नदी तथा तालहरुको पानीको सतहमा परिवर्तन आइरहने गरेता पनि उक्त उतारचढावले मानिसले प्रयोग गरिरहेको भूमि जस्तै गाउँ, शहरबस्ती तथा खेतीयोग्य जमीनमाथि असर नगरेसम्म उक्त बाढीलाई विपद्को रुपमा लिन नसकिने उनले जानकारी दिए ।

खाद्यन्न भडारण, शुद्द पानीको स्रोत संरक्षण, औषधि र स्वास्थ्य केन्द्रको व्यवस्था, उद्घार तथा राहत सामग्रीहरुको बन्दोबस्ती, आपतकालिन योजना निर्माण पूर्व चेतावनी प्रणालीको व्यवस्था तथा स्थान खाली गर्ने योजना बनाउनु, बाढी आउनु पूर्व गरिने कार्यहरु रहेको जानकारी दिए । कार्यक्रममा रेडक्रस, वन, अग्नि नियन्त्रकलगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्घ व्यक्तित्वहरुको सहभागिता रहेको छ ।