भद्रपुर । ‘सामुदायिक वनको पहिचान, संघीयतामा समृद्धिको पहिचान’ भन्ने नाराका साथ झापाको भद्रपुर-९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले २० औं साधारणसभा खपरिषद शुक्रबार सम्पन्न गरेको छ ।

समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा आयोजित साधारणसभाको प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गरेका थिए । सहसचिव चूडामणि पराजुलीले सञ्चालन र कोषाध्यक्ष अनुज खतिवडाले स्वागत गरेको साधारणसभामा वार्षिक प्रगति प्रस्तुत गर्दै अध्यक्ष पोखरेलले आ. व. ०७५/०७६ मा संस्थाले वन पैदावार बिक्रीबाट १ करोड ३० लाख २५ हजार २१६ रुपैयाँ आम्दानी गरेको बताए । सो वर्ष उपभोक्ताको हित तथा सामाजिक कार्यहरु गरिएको अध्यक्ष पोखरेलले उल्लेख गरे ।

प्रतिवेदन अनुसार समूहले भद्रपुर नगरपालिका र १ नं प्रदेश सरकारको आर्थिक सहयोगमा वन व्यवस्थापन र उपभोक्तामुखी क्रियाकलाप गरिएको उल्लेख छ । सो वर्ष समूहले विपन्न उपभोक्ताको आवास निर्माण गर्नुका साथै बायोग्यास निर्माणमा अनुदान, विपन्न वर्गलाई झुल वितरण, भैंसी प्रोत्साहन कार्यक्रम, नमूना वस्ती विकास कार्यक्रम, टनेल खेती तथा कौसी खेती प्रवद्र्धन कार्यक्रम, कृषि तथा पशु प्रदर्शनी कार्यक्रम, महिला सशक्तिकरण, प्रजनन स्वास्थ्य, सीपमूलक तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष पोखरेलले बताए ।

सिमसार क्षेत्रसमेत विकास गर्दै आएको समूहले वैज्ञानिक वन व्यवस्थापन गर्दै आएको कोषाध्यक्ष अनुज खतिवडाले जानकार दिए । साधारणसभामा प्रमुख अतिथि मैनाली, वन उपभोक्ता महासंघ झापा अध्यक्ष वेदप्रकाश भण्डारी, डिभिजन वन कार्यालय झापा प्मुख विष्णुलाल घिमिरे, नेकपा भद्रपुर नगर अध्यक्ष शिवकुमार राजभण्डारी, नेपाली कांग्रेसका राजेन्द्र रिजाल, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका सचिव बाबुराम कार्की, सुन्दर निचाझोडा वन उपभोक्ता समूहकी अध्यक्ष रेणुका उप्रेतीले शुभकामना मन्तव्य राखेका थिए ।