भद्रपुर । आर्थिक अभावका कारण बोनम्यारो क्यान्सर (रक्त क्यान्सर) रोगबाट एक वर्षदेखि घरमै थला परेका झापा जिल्ला भद्रपुर नगरपालिका ९ बस्ने ४९ वर्षीय निर्मल दाहाललाई बचाइ दिन उनका परिवारजनले आग्रह गरेका छन् ।

चन्द्रगढीको प्रज्ञा एकाडेमी पूर्वपट्टिको गेट आगडि पाँच धुर जमिनमा घर बनाएर बस्दै आइरहेका क्यान्सरपीडित दाहाल ठेलाभेनमा पानी पुरी राखेर गाउँ-गाउँ डुलेर बेच्दै परिवार पाल्दै आइरहेका थिए । पानी पुरी बेच्दै आइरहेका दाहाल एक बर्षअघि बिरामी परेर मेची अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गराउन गएका थिए ।

मेचीमा उपचार सफल नभएपछि थप उपचारका लागि विपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको र त्यहाँका चिकित्सकले श्रीमानलाई बोनम्यारो क्यान्सर भएको उनकी श्रीमती मञ्जुले बताइन् ।

अहिलेसम्म श्रीमानको उपचारमा पाँच लाखभन्दा बढीको रकम खर्च भइसकेको बताउँदै मञ्जुले भनिन्, ‘सम्पत्तिको नाममा पाँच धुर जमिन मात्र छ, अहिले सम्म कमाएर जम्मामा गरिएको रकम, गरगहना श्रीमानको उपचारमा खर्च भइसकेको छ ।’

‘श्रीमानको बोनम्यारो प्रत्यारोपण तत्काल गर्नुपर्ने चिकित्सकले भनेकाले उपचार गराउन रकम छैन’, मञ्जुले भनिन्, ‘उपचार खर्च जुटाई श्रीमानलाई बचाइन दिन सबै समक्ष अपिल गर्दछु, उपचारका लागि ४ देखि ५ लाख खर्च हुन्छ, बोनम्यारो प्रत्यारोपण गराए श्रीमानलाई बचाउन सकिन्छ ।’

उनका अनुसार मेची अस्पताल, भारतको सिलगुडी, बिर्तामोडको विएण्डसी अस्पताल, विराटनगरको नोबेल अस्पताल, धरानको घोपा र काठमाडौँको सिभिल अस्पतालमा उपचार गराउँदा गराउँदै पाँच लाखभन्दा बढी रकम खर्च भइसकेको छ । गरिबीका कारण उपचार गराउन सम्भव नभएपछि आफूले मर्नुको विकल्प नभएको क्यान्सरपीडित दाहालले पीडा सुनाए ।

‘बोनम्यारो प्रत्यारोपणको तत्काल शल्यक्रिया गर्न नसके अबको तीनदेखि चार महिनाभित्र आफ्नो मृत्यु भइसक्ने चिकित्सकहरूले बताएका छन्’, आँखाबाट आँसु झार्दै उनले भने ।

छरछिमेकले चन्दा सङ्कलन गरेर हालसम्म उपचार गराइरहेको पीडा सुनाउँदै उनले भने, ‘नियमित चेक जाँचका लागि अस्पताल धाइ रहेका छौ ।’ दाहालको परिवारमा श्रीमती मञ्जु, १५ वर्षकी छोरी र ११ वर्षका छोरा रहेका छन् । ‘छोराछोरीको पढाई गराउनु कि श्रीमानको उपचार गराउन कि पेट पाल्नु यस्तो पीडा भगवानले कसैलाई नदिइयोस्’, मञ्जुले विलौना गरिन् ।

छरछिमेकबाट अहिलेसम्म ३० देखि ४० हजार रुपैयाँ चन्दा उठाएर दिएको र त्यो रकमले उपचार नहुने भएकाले सबै पक्षले सहयोग गरिदिनु हुन छिमेकी विशाल रिमालले बताए ।

यता सहयोगका लागि क्यान्सरपीडित दाहालकी श्रीमती मञ्जु दाहालको नाममा रहेको चन्द्रगढीस्थित सिद्धार्थ बैङ्कको खाता नम्बर ०२२१५२१४०९५ आर्थिक सहयोग रकम जम्मा गरिदिनु हुन रिमालले अनुरोध गरेका छन् ।