0 Shares

आनन्द गौतम,
ताप्लेजुङ । भदौ बित्न लाग्दा मिक्वाखोला २ खोक्लिङका पदम थापाको मन प्रफुल्लित बन्दै थियो । बर्खायाम सकिन लागेकाले विगतका वर्ष जस्तो पहिरोको जोखिम मोल्नु नपर्ला भन्ने उनले सोचेका थिए ।

तर, असोज लाग्नै लाग्दा शुक्रबार यहाँका चार परिवार पहिरोको जोखिममा परेका छन् । अब पनि ठूलो पानी आए आफू, नरबहादुर, बलबहादुर र थप एक घर थापाको परिवारको बसाइ नै नहुने पदमले बताए ।

चार वर्षअघि ५९ जनाले ज्यान गुमाएको यो क्षेत्रमा प्रत्येक वर्ष बाढी र पहिरोले दुःख दिने गरेको छ । चिराचिरा परेको जमिन पुरिइनसक्तै नयाँ पहिरो चल्ने गरेको छ । ‘विगतको त्रासदी यो वर्ष पनि दोहोरियो’, पदमले टेलिफोनमा भने, ‘चाडबाड आयो, राम्ररी मान्न पाइन्छ भन्नेचाहिँ कहिल्यै भएन, सधैं त्रासमा बिताउनु पर्ने ।’ फक्ताङलुङ गाउँपालिका ३ लिंखिमको थिवामा पनि समस्या यस्तै छ ।

थिवा पुछारका चिरेन्द्र र डम्बर लावुङको घर बगाइसकेको छभने नौ परिवार उच्च जोखिममा छन् । ३६ घरपरिवार रहेको यहाँका कुनै पनि घर सुरक्षित भने छैनन् । सिमसिम पानी परे तलबाट तान्छ कि माथिबाट सोहोर्छ भनेर त्रसित भएर बस्नुपर्ने गुनासो स्थानीयको छ ।

सदरमुकाम फुङलिङ-ओलाङचुङगोला हुँदै तिब्बत जोड्ने उत्तरदक्षिण लोकमार्ग बस्तीको बिचमा घुम्ती नै घुम्ती बनाएर गएको छ । पहिला पनि पहिरोको जोखिममै रहेको गाउँको बीचबाट सडक लैजानु स्थानीयको रहर र दबाब दुवै थियो । अहिले त्यही सडकले तल र माथि दुवैतिरबाट थप जोखिम बढाएको छ ।

मिक्वाखोलाको खोक्लिङ र फक्ताङलुङको थिवा मात्रै नभएर जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम छ । सदरमुकाम फुङलिङ प्रवेश गर्ने मार्गभरि पहिरो छ । मेची राजमार्गको सेसम्बुदेखि सदरमुकामको तोक्मेडाँडासम्मै पहिरोको प्रभाव छ । खोक्लिङ र लिवाङको पहिरो सदरमुकामबाटै देखिन्छ । एसियाकै ठूलो भनेर प्रचार गरिएको हाङदेवा पहिरो पनि रोकिएको छैन ।

पहिरोले घेरिएको जिल्लाका बासिन्दा जब बर्खायाम सुरु हुन्छ आत्तिन थाल्छन् । तर, यो वर्ष भने असोज लाग्नै आँट्दासम्म पनि पहिरोको त्रासबाट नागरिक मुक्त हुनसकेका छैनन् । सामान्यतया जेठबाट सुरु हुने बाढी पहिरोको त्रास आधा भदौमा सकिन्थ्यो । यो वर्ष अहिले पनि राति पानी परिरहेकाले पहिरोको त्रास कायमै छ ।

विक्रम संवत १९८२ सालदेखि सुरु भएको पहिरोले जिल्लालाई बर्सेनि पिरोल्छ । प्रहरी कार्यालयको तथ्यांक अनुसार यस्तो वर्ष छैन, जिल्लामा पहिरो नगएको होस् । ठूला र दीर्घकालीन असर पार्ने हाङदेवाको हिरेवा, चिनेवा, कटहरे, लिवाङ, खोक्लिङ, नाङखोल्याङ, लिंखिम, फुरुम्वु, सिनाम, आङखोप, फूलबारी, निगुरादिन, तापेथोक, याम्फुदिन, थुम्बेदिन गाविसका पहिरो बर्सेनि बग्ने गरेका छन् ।

फुङलिङ नगरपालिकाभित्र रहेको हाङदेवाको पहिरोको आसपासमा ४० भन्दा बढी परिवार रहेको जिल्ला रेडक्रस शाखाको तथ्यांकमा उल्लेख छ । पहिरोका कारण बर्सेनि बसाइँ सर्ने क्रम बड्दो छ । विसं २०००, ०१५, ०१८, ०२०, ०२५, ०३४, ०३७, ०४५, ०५०, ०५९, ०६०, ०६१, ०७२ र ०७३ सालका पहिरोलाई सबैभन्दा ठूलो मानिएको छ ।

दुइवर्ष अघि नगरपालिका भित्रका विभिन्न स्थानमा गएको पहिरोले तीनजनाको ज्यान लिएको थियो । भौतिक पूर्वाधारमा भने ठूलो क्षति पुर्‍याएको थियो । तत्कालीन जिल्ला भू-संरक्षण कार्यालयले प्रशासन कार्यालयमा बुझाएको तथ्यांकअनुसार स्थानीय तहका सबैजसो वडामा सानाठूला पहिरो छन् । भू–संरक्षण अधिकृत हरिबहादुर कुँवरद्वारा तयार पारिएको प्रतिवेदनमा भिरालो जमिन, कमलो माटो र पछिल्लो समय भूकम्पले चर्काएकाले पनि धेरै पहिरोको जोखिम रहेको उल्लेख गरेका छन् ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले पहिरोको अवस्था अध्ययन गरी प्रतिवेदन बुझाउन टोलि नै खटाएका थिए । ५९ जनाको ज्यान गएपछि प्रजिअले टोली बनाएर गाउँ-गाउँ खटाएका थिए । ‘यहाँको माटो पातलो छ, त्यसमा धेरै वर्षा भएपछि थेग्नै सक्दैन र पहिरो बनेर झर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘एकै पटक ठूलो वर्षा भए यहाँचाहिँ सुरक्षित छ भन्ने अवस्था छैन ।’ तथापि यो प्रविधि सहितको विस्तृत अध्ययनचाहिँ नभएको कुँबरले उल्लेख गरेका छन् ।

पूर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार लिवाङ, खोक्लिङ, थिङलावु, लिङतेप, सान्थाक्रा लगायतका गाविसमा पहिरो जाँदा १ सय ४२ मिलिमिटर वर्षा भएको थियो । यी क्षेत्रका ७२ घर पूरै पहिरोले बगाएका थिए । त्यत्तिनै संख्यामा विस्थापित भएका थिए । अधिकांश अहिलेसम्म पुनःस्थापित हुन सकेका छैनन् ।

१ सय ३७ मिलिमिटर वर्षाले फुङलिङ नगरपालिकाको दोखु क्षेत्र चिराचिरा हुने गरी पहिरो जाँदा १ सय ३७ मिलिमिटर वर्षा भएको थियो । तर, मानवीय क्षति भने भएन । सदरमुकाम क्षेत्रमा ढलनिकासको व्यवस्था नहुँदा सदरमुकामको तल्लो क्षेत्र सबैभन्दा बढी जोखिममा छ । सुकेटार विमानस्थलदेखिको पानी बिटुलिएर आउने र जोखिम बढाउने फुङलिङ नगरपालिका ७ का वडाध्यक्ष राजन गुरुङ बताउँछन् ।

उत्पादन बढाउने उद्देश्यले पर्ति जमिन खेतीयोग्य बनाइनु, कमेरे माटोको भू-बनोट हुनु जस्ता कारण पहिरो नरोकिएको रेडक्रसका पूर्व अध्यक्ष तथा मैवाखोला गाउँपालिकाका प्रशासकीय अधिकृत गणेश अधिकारी बताउँछन् । खोरिया प्रथा कायम रहनु र पछिल्ला वर्षमा आफू खुसी बिना अध्ययन सडक निर्माण गरिनुले पनि पहिरो बढाइरहेको छ ।

सडक डिभिजन कार्यालय संखुवासभाका इन्जिनियर कुवेर नेपाली कस्तो ठाउँमा सडक बनाउने भन्दा पनि आफ्नो अनुकुलता अनुसार कसरी बिस्तार गर्न सकिन्छ भनेर समुदाय लाग्ने भएकाले जोखिम बढिरहेको बताउँछन् । त्यसलाई कर्मचारिले मात्रै रोक्न नसक्ने र स्थानीयमा चेतना हुनुपर्ने उनको तर्क छ । भूक्षय नियन्त्रणमा बजेट नछुट्याउने र बजेटको प्राथमिकतामा नपर्ने भएकाले पहिरो नियन्त्रणमा प्रगति भएको छैन । कान्तिपुरबाट