झापा- बिर्तामोड ४ स्थित भद्रपुररोडबाट भण्डारी थरका एक व्यक्तिको घरबाट २ थान कटुवा पेस्तोलसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोड र जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि भने गरेको छैन ।

तर, इलाका प्रहरी बिर्तामोडका डिएसपी मोहन थापाले आफ्नो टोलीले पक्राउ नगरेको दाबी गरेका छन् । आजै दिउँसो २ जना पक्राउ परेको सन्दर्भमा भने उनले मिडियामार्फत थाहा पाएको बताए । आजै बिर्तामोड एरियाबाट दुई जना पक्राउ परेको सञ्चारमाध्यममा खबर आएको थियो ।

डिएसपी मोहन थापाले आज बिर्तामोड एरियामा प्रदेश र जिल्ला प्रहरीको टोली पनि हिँडिरहेको भन्दै फोन सम्पर्क विच्छेद गरे । यसैबीच, जिल्लाका डिएसपी तथा प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले भने फोन रिसिभ गरेका छैनन् । तर, ४ नम्बर वडाका एक जनप्रतिनिधिले घटनाको पुष्टि गरेका छन् ।

आज साँझ प्रहरीले करिब २ घण्टा समय लगाएर २ थान कटुवा पेस्तोल, त्यसमा लाग्ने केही थान गोली र दस्तावेजका रुपमा कागजात बरामद गरेको बताइएको छ ।

आज दिउँसोमात्र कान्तिपुर दैनिकको अनलाइनले ‘चन्द समूहका ‘जनसरकार’ प्रमुख र सेक्रेटरी पक्राउ’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

समाचारमा भनिएको छ, झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द समूहका झापा ‘जनसरकार’ प्रमुख टीका पोख्रेलसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रणीण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको हो ।

पार्टी कामको सिलसिलामा उनीहरु मोटरसाइकल चढेर जाँदै गरेका थिए ।