झापा । आर्थिक अभावमा हस्पिटलबाट डिस्चार्ज हुन नसकेकी कृष्णकुमारी चौधरी अन्ततः घर फर्किएकी छन् । झापा अर्जुनधारा ७ की कृष्णकुमारी डाक्टरले डिस्चार्ज दिए पनि फार्मेसीको रकम तिर्न नसक्दा अस्पतालकै बेडमा थिइन् । सोमबार भने उनी घर फर्किएकी छन् ।

केही महिनाअघि खुट्टामा घाउ भएपछि उनको परिवारले उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेका थिए । मजदुरी गरेर गुजारा चलाउने उनको परिवारको स्थिति निजी हस्पिटलमा लैजाने थिएन । सामान्य घाउको समयमै उपचार हुन नसक्दा पाक्दै गएपछि इन्फेक्सन भएर उनलाइ मेची अस्पताल लगिएको थियो । डाक्टरको सल्लाहअनुसार उनलाई ४५ दिनसम्म नियमित ड्रेसिङ गर्नुपर्ने भएपछि अस्पतालमै राखिएको थियो ।

सरकारी अस्पतालमा उपचार गरिएको भए पनि औषधि भने बाहिर फार्मेसीबाट किन्नुपर्ने बाध्यता थियो चौधरी परिवारमा । भएको केही पैसा उपचारकै क्रममा सकिएको थियो भने घरमा भएका केही दराजलगायत सामान बेचिइसकिएको थियो । अब बेच्नका लागि केही थिएन । त्यही कारण पनि अस्पताल बाहिरबाट औषधि किनिएको २५ हजार रुपैयाँ तिर्न नसक्दा उनी अस्पतालकै बेडमा बस्न बाध्य थिइन् ।

उनलाई डाक्टरले डिस्चार्ज दिए पनि घर लैजान नपाउँदा उनका श्रीमान बाबुलाल चिन्तित थिए । तर, सोही वडामा सामाजिक काममा सक्रिय रहेका कमल पोख्रेलसँग बाबुलालको भेट भएपछि श्रीमतीलाई घर लैजान पाउनेमा विश्वस्त थिए । सामाजिक अभियन्ता पोख्रेलले कृष्णकुमारीलाई घर पठाउनका लागि आर्थिक सहयोगको अपिल गरे ।

अपिलसँगै बिर्तामोडका व्यवसायी सन्तोष अग्रवालले फार्मेसीमा सम्पर्क गरेर २५ हजारमध्ये ५ हजार छुट गराइदिए । आर्थिक सहयोगबाट ३१ हजार १२५ रुपैयाँ संकलन गरेको पोख्रेलले बताए । संकलित रकममध्ये २१ हजार एम्बुलेन्स भाडासहित औषधिको बाँकी रकममा खर्च भएको अर्का सामाजिक अभियन्ता विष्णुप्रसाद आचार्यले बताए । उनका अनुसार बाँकी रहेको रकम कृष्णकुमारीका लागि ६ महिनासम्म खानुपर्ने औषधि खरिद र चाडवाडको मुखमा खाद्यान्नका लागि चौधरी परिवारलाई हस्तान्तरण गरिएको छ ।

पोख्रेलको अपिलपछि प्रवासी अर्जुनधारा सेवा समाज कतारले १५ हजार पठाएको थियो । त्यस्तै, विरु दर्नाल, सन्तोष अग्रवाल, रविन शर्मा, अनुप सापकोटा, ध्रुवराज राई, रिता भट्टराई, गणेश भट्टराई, याम कार्की, सरोज सापकोटा, ऋतु लामा, प्रविण रिमाल, सुवास फुयाल, शिखा उप्रेतीलगायतले आर्थिक सहयोग गरेका थिए ।