अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा आज बिहीबारदेखि कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सुरु भएको छ । नगरलाई रेबिज रोगमुक्त बनाउने उद्देश्यले नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा कुकुर बन्ध्याकरण शिविर सुरु भएको हो ।

हिमालयन एनिमल रेस्क्यू ट्रस्ट (हार्ट) पोखराको प्राविद्यिक सहयोग रहेको उक्त शिविर असोज ६ गतेसम्म सञ्चालन हुने शाखा प्रमुख पदमलाल राईले जानकारी दिए । शाखा प्रमुख राईका अनुसार शाखाले गत भदौ २८ गतेदेखि रेबिज रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका ११ वटा वडाका विभिन्न स्थानमा आयोजना गरिएको उक्त कार्यक्रमअन्तर्गत नौ सय वटा कुकुरलाई खोप दिइएको बताइएको छ ।

विगत वर्षझैँ यसवर्ष पनि शाखाले नगरका सामुदायिक कुकुरको बन्ध्याकरणसँगै रेविज रोगविरुद्ध भ्याक्सिन लगाएको हो ।