झापा । अर्जुनधारा नगरपालिका वडा नम्बर ४ स्थित नवनिर्मित स्वास्थ्य चौकीको दुई तले भवनको आज आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । एक वर्षअघि निर्माण सम्पन्न भएको भवनको एक वर्षपछि उद्घाटन गरिएको हो ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि बिर्तामोड १ जगत बस्तीका बस्नेत परिवारले अग्रज शिवमाया र लक्ष्मण बस्नेतको स्मृतिमा सात कठ्ठा जमिन निःशूल्क उपलब्ध गराएपछि स्वास्थ्य चौकी निर्माणका लागि पहल अघि बढेको थियो । जग्गा प्राप्तिका लागि स्थानीय समाजसेवी केदार पराजुलीले पहल गरेका थिए । जग्गा दाताले २०७३ वैशाख ४ गते स्वास्थ्य चौकीका लागि जग्गा उपलब्ध गराएका थिए ।

सोही जग्गामा संविधानसभाका सदस्य प्रेमबहादुर गिरीको पहलबाट सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामले २ करोड ३८ लाख रुपैयाँमा २०७४ असोजमा ठेक्का प्रक्रिया सुरु गरेको थियो । सोही दुई तले भवनको आइतबार अर्का संविधानसभा सदस्य सुधिरकुमार सिवाकोटी, अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार राना र जग्गादाताका सदस्यले संयुक्तरुपमा भवनको उद्घाटन गरेका हुन् ।

मेयर रानाको अध्यक्षता तथा संविधानसभा सदस्य सिवाकोटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जग्गादाता परिवारलाई नगरपालिकाको तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो । उक्त सम्मानपत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले वाचन गरेका थिए भने मेयर राना, संविधानसभा सदस्यद्वय सिवाकोटी र गिरीले दाता परिवारलाई हस्तान्तरण गरेका थिए ।

स्वास्थ्य चौकी निर्माण भएपछि बिरिङ र टाङटिङको चेपमा परेका वडा नम्बर ४ का बासिन्दाले आफ्नै गाउँघरमा स्वास्थ्य सेवा पाउने विश्वास गरेका छन् । भरपर्दो र स्तरीय सेवा पाउने भएपछि स्थानीय पनि खुसी देखिएका छन् । स्वास्थ्य चौकीमा ८ जना कर्मचारी कार्यरत छन् ।

स्वास्थ्य कर्मचारी तथा सिनियर अहेव दुर्गा भट्टराईको सञ्चालन रहेको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष दुर्गाप्रसाद दाहालले औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेका थिए । कार्यक्रममा संविधानसभा सदस्यद्वय सिवाकोटी, गिरी र जग्गा दाताको तर्फबाट नरबहादुर बस्नेतले आफ्नो भनाइ राखेका थिए ।

यस अघि अर्जुनधारा-७ बाट सेवा प्रवाह गर्दै आएको उक्त स्वास्थ्य चौकीबाट स्वास्थ्य चौकीले प्रदान गर्ने सबै प्रकारका सेवाहरु उपलब्ध हुने प्रमुख एचए अनुषा कार्कीले बताइन् ।