लक्ष्मी उप्रेती,
काँकरभिट्टा । हाल आधारभूुतस्तरको खानेपानीको पहुँच ८८ प्रतिशत जनतामा मात्र पुगेको सम्बन्धित विज्ञहरुले बताएका छन् । उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच भने २० प्रतिशतमा पुगेको छ । आइतबार झापाको मेचीनगरस्थित काँकरभिट्टामा सम्पन्न काँकरभिट्टा र चारआलीको मानव मलमुत्रीय फोहोर व्यवस्थापन सञ्चालनसम्बन्धी कार्यशालामा यससँग विज्ञहरुले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखाएको हो ।

मानव मलमुत्रीय फोहोर व्यवस्थापनसम्बन्धी संस्थागत तथा नियामक खाका, ट्रिटमेन्ट यूनिट प्रशोधन केन्द्र, व्यावसायिक योजना र सञ्चालन निर्देशिकाको बारेमा सरोकारवालालाई जानकारी प्राप्त होस् तथा त्रिपक्षीय सेवा सञ्चालन सम्झौताको बारेमा औपचारिकरुपमा छलफल भएर सहमति प्राप्त गरी सम्झौता सम्पन्न हुने तथा सम्झौता शर्तहरु कार्यान्वयन गर्ने उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले कार्याशालाको आयोजना गरिएको हो ।

नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग साना सहरी खानेपानी तथा सरसफाइ आयोजना तथा सहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयले आयोजना गरेको कार्यशालामा विभिन्न विषयका विज्ञहरुले आआफ्नो प्रस्तुति दिएका थिए । आयोजना निर्देशक विद्यानाथ भट्टराईले खानेपानी तथा सरसफाइ क्षेत्रको उपलब्धीका विषयमा प्रस्तुतिकरण दिएका थिए ।

सरसफाइ क्षेत्रका बारेमा चर्चा गर्दै उनले आधारभूतस्तरको सरसफाइमा पहुँच ९८ प्रतिशतको पुगेको तथा ढल प्रणालीमा आबद्घ ३० प्रतिशत र सेफ्टी टेंक प्रयोग ४८ प्रतिशत रहेको र यो तथ्याङ्क खानेपानी तथा सरसफाइ क्षेत्रको लक्ष्य १५औँ योजना २०७६÷७७ – २०८०÷८१ को अन्त्यसम्मको भएको प्रष्ट पारे । उनले आधारभूत स्तरको खानेपानीको पहुँच ९९ प्रतिशतमा तथा उच्च तथा मध्यम स्तरको खानेपानीको पहुँच ४० प्रतिशतमा रहेको बताए । आधारभूत स्तरको सरसफाइमा पहुँच १०० प्रतिशत प्रशोधनसहितको ढल प्रणालीमा आबद्घ २० प्रतिशतमा पहुँच पुगेको उनले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

साना सहरी खानेपानी तथा सहरी खानेपानी तथा सरसफाइ आयोजनाको अवधारणाका बारेमा प्रस्तुति दिँदै भट्टराईले नेपाल सरकार, उपभोक्ता वर्ग वा स्थानीय तहको सहलगानी र लागत असुलीमा आधारित हुने, आयोजनाको निर्माण, सञ्चालन र सम्भारमा लैङ्गिक समानता र सामाजिक समावेशीता रहने, आयोजना सम्पन्न पश्चात् निर्माण व्यवसायीद्वारा १ वर्षसम्म आयोजनामा संचालन तथा मर्मत संभार गर्नुपर्ने नेपाल राष्ट्रिय गुणस्तर बमोजिमको सुरक्षित खानेपानी सेवाको उपलब्ध हुने र खानेपानी तथा सरसफाइ प्रणालीको स्वामित्व स्थानीय तहमा रहने गरी उपभोक्ता संस्थाबाट सञ्चालन र व्यवस्थापन हुने जानकारी गराएका थिए ।

निर्माण निरीक्षक विशेषज्ञ केशवराज विष्टले प्रशोधन प्रणालीको जानकारी तथा काँकरभिट्टा र चारआलीको एफएसएमका बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले पोषण तत्व व्यवस्थापन, हानिकारक जीवाणुहरु घटाउने, पानीको मात्रा बढाउने प्रविधि प्रयोगका उद्देश्य रहेको बताए ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष हर्कबहादुर लिम्बूको सभापतित्वमा भएको कार्यक्रममा आयोजनाका उपनिर्देशक नारायणप्रसाद आचार्य, खानेपानी तथा सरसफाइ सुशासन विज्ञ सञ्जय अधिकारी तथा व्यावसायिक योजना विज्ञ डा. मिङ्मा शेर्पा, हरिप्रसाद शर्माले विभिन्न विषयमा प्रस्तुति दिएका थिए । कार्यक्रममा सञ्चालन निर्देशिकाका बारेमा जानकारी गराउँदै सेवा सञ्चालन सम्झौता, अवधारणा र जिम्मेवारी तथा छलफल परिमार्जन तथा सेवा सञ्चालन सम्झौतापत्र समेत सम्पन्न भएको छ ।

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भएको कार्यक्रममा मेचीनगर, बिर्तामोड नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, बुद्घ शान्ति गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, काँकरभिट्टा, चारआली खानेपानीका पदाधिकारीसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको परिचय तथा उद्देश्यका बारेमा हरिप्रसाद शर्माले प्रकाश पारेका थिए भने उद्घाटन सत्रको सञ्चालन काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सचिव राजकुमार पराजुलीले गरेका थिए ।