मेचीनगर । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापासहितको अनुगमन टोलीले झापा मेचीनगर-७ मा रहेको पाथीभरा पाउरोटी उद्योगका सञ्चालक प्रदिप राजवंशीलाई सात दिनभित्र सम्बन्धित कार्यालयबाट आवश्यक कागजात लिएर उद्योग सञ्चालन गर्न निर्देशनसहित पत्रचार गरेको छ ।
सोमबार मेचीनगर नगरपालिका, उपभोक्ता मञ्च नेपाल, सुरक्षाकर्मीसहितको अनुगमन टोलीले अनुगमनका क्रममा खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय विराटनगाबट उद्योग सञ्चालनका लागि लिनुपर्ने अनुमति पत्र नलिई उद्योग सञ्चालन गरेको फेला पारेपछि सञ्चालक राजवंशीलाई निर्देशनसहित पत्र दिएको हो । खाद्य प्रविधि गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाका कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीका अनुसार उद्योग सञ्चालन गर्नुपूर्व नै अनुमति पत्र अनिवार्य लिनु पर्ने हुन्छ ।
सञ्चालक राजवंशीले भने आफू पटक पटक विराटनगर गए पनि समयमै कार्यालयले उपलब्ध नगराएको टोलीलाई जानकारी दिएका थिए । साथै अनुगमन टोलीले आफ्ना हरेक उत्पादनमा उत्पादन मिति, उपभोग्य मिति, मूल्य राख्न उद्योग परिसरमा भान्साका कुनै सामान नराख्न तथा सरसफाइमा ध्यान भनेको छ । लुइँटेल किराना पसललाई खाद्य पदार्थको लेवल अनिवार्य हेरेर खरिद बिक्री गर्न तथा स्थानीय निकायबाट इजाजत लिनका लागि सुझाव दिएको छ ।

मेचीनगरकै ओली कोल्ड सेन्टरमा सुर्ती चुरोट जस्ता वस्तु नराख्न, प्रत्येक खाद्य पदार्थको लेवल सात सात दिनमा हेरेर व्यवसाय सञ्चालन गर्न तथा स्थानीय निकायबाट इजाजत लिनका लागि निर्देशन दिएको मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले बताए ।
अनुगमनका क्रममा अधिकांश व्यवसायीकले प्रमाण पत्र, मूल्य सूची तथा नापतौलका लागि प्रयोग गरिएका उपकरण अद्यावधिक नगरेको पाइएपछि उनीहरुलाई सबै प्रमाण पत्र अद्यावधिक गर्न निर्देशन दिएको छ । अनुगमन टोलीमा मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेती, उपभोक्ता मञ्च नेपालका सन्तोष नेउपाने, प्रहरी पोष्ट इँटाभट्टाका प्रमुख प्रहरी सहायक निरीक्षक शम्भुकुमार चौधरी, नेपाल प्रहरी तथा नगर प्रहरी सहभागी थिए ।