इलाम । इलाम नगरपालिका-६ चुरेघाँटीका चन्द्र राई २०७५ सालको नयाँ वर्ष मनाउन परिवारसहित इलाम नगरपालिका–९ मा रहेको राहसल अनाथालयमा पुगे । बालबालिकाको बिजोकलाग्दो बसाई देखेपछि उनलाई केही गर्न मन लाग्यो । साथीसंगीसंग कुरा गर्दा टहरो बनाइदिने निचोडमा उनीहरु पुगे । तर, त्यो दिर्घकालीन समाधान थिएन ।

अनाथालयको सञ्चालकहरुले दिर्घकालीन समाधान चाहान्थे । केही युवाहरु बसेर फेरी छलफल गरे । निष्कर्श निस्कियो समाजिक सञ्जाल फेसबुक मार्फत अभियान चलाउने र पक्की घर बनाइदिने । सल्लाह बोजिम पाँच जनाको ‘श्रोत व्यवस्थापन अभियान समिति’ समिति गठन भयो । राईसहित, विनय तिम्सिना, विनय श्रेष्ठ, नरेश श्रेष्ठ र बुद्धमाया सोङमी कम्मर कसेर लागेपछि ०७५ को असोज ६ गतेदेखि फेसबुकमार्फत अभियान चलाइयो । अभियान शुरु गरेपछि अनाथालयलाई घर बनाउन सहयोग जुट्न थाल्यो ।

फेसबुक अभियानमार्फत संकलन भएको अनाथालयमा दुईतले पक्की घर निर्माण गरिएको छ । सात महिनामा घर निर्माण पूरा भएको हो । ४१ लाख रुपैयाँको लागतमा निर्मित घर अनाथालयलाई हस्तान्तरण गरिएको छ । आठ कोठा रहेको दुईतले भवनमा २० जना बालबालिकालाई पुग्ने आवश्यक लत्ता कपडा सहित बेड बनाइएको छ । पढ्नको लागि अलग्गै कोठा, अफिस रुम, मिटिङ्ग हल र सञ्चालकका लागि समेत कोठाको व्यवस्था गरिएको छ ।

बालबालिकाको मनोरञ्जनको लागि टिभि र सिसिटिभी समेत जोडिएको छ । घर निर्माणमा खर्च भएको ४१ लाखमध्ये ३२ लाख रुपैयाँ संकलन भएर खर्च गरिसकेको छ । प्रतिवद्धता ब्यक्त गरेकाहरुबाट छ लाख रुपैयाँ संकलन हुँन बाँकी छ रहेको अभियानका संयोजक चन्द्र राई बताउँछन् । बाँकी तीन लाख रुपैयाँ भने ऋण लागेको छ । ‘हामीले घर बनाएर अनाथालयलाई जिम्मा लगाइसकेका छौ’, उनले भने, ‘प्रतिवद्ध पाएको छ लाख आउन बाँकी छ, अरु तीन लाख रुपैयाँ पनि सहयोग उठ्ला भनेर काम सम्पन्न गरेका हौ ।’

अनाथालयको घर बनाउन इलाम स्थित पशुपति प्रसाद गणले दुईसय १७ जनाले श्रम गरेका थिए भने अन्यले स्थानीयले आवश्यकता अनुसार सामाग्री दिएका थिए । भवन निर्माणको लागि तीन सय जनाले नगद र निर्माण सामग्री उपलब्ध गराएका थिए । ‘हामीलाई एक सय रुपैयाँ देखि तीन लाख रुपैयाँसम्म नगद प्राप्त भएको छ’, उनले भने, ‘विद्यार्थीले खाजा खर्च कटाएर पनि दिएका छन्, वैदेशीक रोजगारीमा गएकाहरुले पनि राम्रो सहयोग गर्नुभएको छ ।’

अनाथालय निर्माणमा झापाका राजेश भण्डारी, इलामकी प्रेम कुमारी खड्कीले तीन तीन लाख रुपैयाँ उपलब्ध गराएका छन् । इलामका रतन चौधरीले तीन लाख रुपैयाँ दिने प्रतिवद्धता गरेमध्ये एक लाख रुपौँ उपलब्ध गराइसकेका छन् ।

अभियानमार्फत घर निर्माण भएपछि बालबालिकालाई बस्न सहज हुने अनाथालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहान बताउँछन् । ‘चारकोठे एउटा घरमा सवैलाई राख्नुपर्दा निकै समस्या हुन्थ्यो’, उनले भने, ‘नयाँ घरमा हामी थप अरु बालबालिका पनि राख्न सक्छौ ।’ अनाथालयमा अहिले १५ बालबालिका छन् । बालक र बालिका एउटै घरमा राख्दा समस्या थियो । नयाँ घर सम्पन्न भएपछि छात्र र छात्रालाई फरक फरक राख्न सकिने सञ्चालक समितिका सहसचिव राजन दाहाल बताउँछन् ।

‘चारओटा कोठामा १५ जना बच्चा सहित तीनजना स्टाफ बस्नुपर्ने बाध्यता थियो’, सहसचिव दाहालले भने, ‘अब केटा केटीलाई फरक फरक घरमा राख्न सक्छौ ।’ शुरुमा कच्चिघर बनाएर अनाथालय शुरु गरिएको थियो । तत्कालिन जिल्ला विकास समितिले चार काठे एक तले घर बनाइदिएको छ । इलाम नगरपालिकाको सहयोगमा त्यसको माथिल्लो तला पनि थपिदैछ । चालु आर्थिक वर्षमा इलाम नगरपालिकाले पाँच लाख रुपैयाँ विनियोजन गरेकाले पुरानो भवनमा समेत चार कोठा थपिनेछ ।

स्थानीय राजेन्द्र चौहानले आठ रोपनी जग्गा अनाथालयको नाममा नामसारी गरेर अनाथालय शुरु गरेका हुन् । २०६६ सालमा दर्ता भएको अनाथालयमा २०६८ सालदेखि आमाबाबु बिहीन अलपत्र भेटिएका बालबालिका राख्न थालिएको हो । शुरुमा दुई बालबालिका थिए । अहिले १५ जना बालबालिका छन् ।

शुरुमा आएको बच्चा १५ वर्ष उमेरको भइसकेको छ । उनी भगवती माविमा कक्षा १० मा अध्ययन गर्दैछन् । अनाथालयमा रहेका बालबालिका सुनाखरी बोर्डिङ्ग, सुनाखरी आधारभूत विद्यालय र भगवती माविमा अध्यनरत छन् ।