खुदुनाबारी । झापाको अर्जुनधारा-२ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले विपन्न उपभोक्ताको घर निर्माण गरिदिने योजना अघि सारेको छ । मंगलबार समूहको कार्यालय परिसरमा सम्पन्न २१औं साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले आगामी वर्षको योजना सुनाएका हुन् ।

अध्यक्ष खतिवडाले विभिन्न संघसंस्थाहरुसँगको साझेदारीमा विपन्नहरुको लागि घर निर्माण गर्ने उल्लेख गरेका छन् । समूहले ३ वटा घर बनाइदिने प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, विपन्न वर्गका उपभोक्तालाई आगामी वर्ष एक सय वटा ग्यास सिलिण्डर वितरण गर्ने योजना समूहको छ । यसअघि १२ वटा टोल समूका ३६ जना विपन्न उपभोक्तालाई ग्यास सिलिण्डर वितरण गरेको थियो ।

यस्तै, लघुवित्त फर्निचर उद्योग सञ्चालन गर्ने, उपभोक्ता क्षेत्रमा रहेका महिलाहरुको समूह गठन गरी उनीहरुको सशक्तिकरणको लागि कार्यक्रम सञ्चालन गर्ने, अग्र्यानिक कृषि प्रणाली सञ्चालन गर्न साझेदारी कार्य गर्ने, काठ विक्री वितरणमा वन नियमावली र कार्ययोजना अनुसार समानुपातिक प्रणालीको अन्त्य गरी आवश्यकताअनुसार विक्री वितरण गर्ने, ऐनमा व्यवस्था भएअनुसार काठ विक्री वितरणको १० प्रतिशत कर स्थानीय सरकारलाई बुझाउनुपर्ने भए कार्यान्वयनमा जानेलगायत रहेको छ ।

यसैगरी, विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, अंग्रेजी माध्यमबाट पठनपाठन गराएका सामुदायिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्ने, अव्यवस्थित रहेको कार्यालय भवन निर्माण गर्ने, अर्जुनधारा नगरपालिकासँग सहकार्य गरी निर्माण बाँकी रहेको घाटगद्दी घेराबारा यस वर्ष पूरा गर्ने योजना अध्यक्ष खतिवडाद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले २१ वटा मैनबत्तीमा प्रज्वलन गरी उद्घाटन गरेको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष खतिवडाले, स्वतन्त्र लेखापरीक्षण प्रतिवेदन वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले, आन्तरिक लेखा परीक्षण प्रतिवेदन लेखा समिति सदस्य यदुनाथ कोइरालाले र वार्षिक कार्यक्रमसहितको प्रतिवेदन कोषाध्यक्ष खगेन्द्र कोइरालाले प्रस्तुत गरेका थिए ।

त्यसैगरी गत आर्थिक वर्ष ०७५/०७६मा एक करोड ४३ लाख ६७ हजार पाँच सय दुई रुपैयाँ ७७ पैसा बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गरेको कार्यक्रममा चालु आर्थिक वर्ष ०७६/०७७को लागि अनुमानित ९६ लाख ८६ हजार छ सय ६४ रुपैयाँ ७७ पैसा बराबरको वार्षिक कार्यक्रम पेस गरिएको थियो ।

प्रस्तुत कार्यक्रम अन्र्तगत प्रतिवेदनमा प्रशासनिक खर्चतर्फ १५ लाख ११ हजार नौ सय रुपैयाँ, वन पैदावर संकलनतर्फ सात लाख ३७ हजार आठ सय ७७ रुपैयाँ, वन व्यवस्थापन तथा सदुपयोगतर्फ पाँच लाख ८० हजार २४ रुपैयाँ, वन संरक्षण तथा विकासतर्फ २२ लाख १७ हजार छ सय २४ रुपैयाँ, गरिबी न्युनिकरणतर्फ ३१ लाख चार हजार छ सय ७४ रुपैयाँ ७७ पैसा, दायित्व फिर्ता तीन लाख २५ हजार चार सय रुपैयाँ, अन्य खर्च तीन लाख ९३ हजार रुपैयाँ र नगरलाई लकडी बिक्रीबाट १० प्रतिशत कर बापतको आठ लाख १६ हजार एक सय ६५ रुपैयाँ उल्लेख गरिएको छ ।

सोही कार्यक्रमको अवसरमा सूर्योदय टेलिभिजनका समाचारदाता तिलक योन्जन र एवान एफएमका प्रबन्ध निर्देशक हरिबिक्रम दुत्पाउ कुमाललाई नगद पुरस्कार पाँच-पाँच हजार रुपैयाँ र सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

त्यस्तै समूहका १२ जना ज्येष्ठ उपभोक्ताहरुलाई नगद र सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा गंगादेवी भट्टराई, डिल्लीप्रसाद कोइराला, तिलावती ढकाल, दलबहादुर राई, दिलमाया मगर, धनमाया घिमिरे, भोलानाथ पराजुली, मनबहादुर कुमाल, मनमाया श्रेष्ठ, विष्णुमाया खनाल, शेरबहादुर राना र हर्कनारायण श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा वडाध्यक्ष रघुनाथ खनाल, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे, सहायक वन अधिकृत ओमनाथ भट्टराई, सब डिभिजन वन कार्यालय सुरुङ्गाका रेञ्जर राजेश घिमिरे, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, नगर सामुदायिक वन महासंघका अध्यक्ष दिव्यप्रसाद कट्टेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडाका अध्यक्ष निर्माण आचार्य, नेपाली काँग्रेसका प्रतिनिधि गोपालकृष्ण लामिछाने, सल्लाहकारद्धय खड्गबहादुर कुमाल र चेतनाथ सापकोटालगायतको आतिथ्यता रहेको थियो । समूहका उपाध्यक्ष गंगादेवी गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव हेमराज आचार्यले गरेका थिए ।