काँकरभिट्टा । चाडपर्व शुरु भएसँगै भारतका विभिन्न ठाउँमा कामका लागि गएका नेपालीहरु फर्किने क्रम शुरु भएको छ । नजिकिँदै गरेको दशैं तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गरेर नेपाल प्रवेशको पूर्वी प्रवेशद्वारमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला मानिसहरुको आवतजावत बाक्लो हुने तथा घर छाडेर कमाउनका लागि विदेश गएकाहरु आ आफ्नो घर फर्किने गरेका छन् ।

चाडपर्वमा घर फर्किने क्रम शुरु भएपछि सीमामा ठगिने, लुटिने आपराधिक घटना हुने हँुदा यसको समाधानको लागि मेचीनगर-६ स्थित काँकरभिट्टा नाकामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मले सहायता कक्ष स्थापना गरेको हो । दशै, तिहार तथा छठ जस्ता चाडपर्वका बेला बढी भीडभाड हुने हुँदा सीमामै नागरिक सहायता कक्ष स्थापना गरिएको नेपाली सुरक्षा अधिकारीहरुको भनाइ छ ।

चाडपर्वका बखत भारतका विभिन्न ठाउँबाट नेपाल फर्किने नेपाली तथा नेपालका विभिन्न ठाउँबाट भारत फर्किने भारतीयहरुका लागि आवतजावतमा सहज होस् भन्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेडक्वाटर राजस्व तथा भन्सार सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले बताउनुभयो ।

नागरिक सहायता कक्ष स्थापनापछि नेपाली तथा भारतीय नागरिकलाई सीमामा समस्या नहुने उहाँको भनाइ छ । सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले चाडपर्वका बखत दुवै देशका नागरिकलाई सीमामा समस्या भोग्न नदिने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

रोजगारका लागि भारतका विभिन्न ठाउँमा पुगेका नेपालीहरु चाडपर्वका बेला भारतबाट फर्किने र सो क्रममा सीमा नाकामा लुटिने, दुव्र्यवहार हुने गरेको छ । नागरिक सहायता कक्षमा भारतीय सीमा सुरक्षा बलको टोल फ्रि नम्बर समेत राखिएको छ ।