रोहित काफ्ले,

झापा । एक नम्बर प्रदेश सरकार अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पूर्वको १४ वटै जिल्लामा सञ्चालनमा ल्याएको ‘म अघि बढ्छु’ कार्यक्रमलाई सफल बनाउन जुटेसँगै झापामा यस अभियानलाई तीव्रता दिइएको छ ।

यसैक्रममा ‘म अघि बढ्छु’ झापा जिल्लास्तरीय अनुगमन समितिको आयोजनामा मंगलबार भद्रपुरमा सामुदायिक तथा निजी विद्यालयका शिक्षक नायकहरूलाई एकदिने प्रशिक्षण दिइएको छ ।

सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई सुदृढ एवम् किशोर अवस्थामा प्रवेश गरेका कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सक्षम, सबल, जिम्मेवार, चरित्रवान, सुसंस्कृत, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनमुक्त, सिर्जनशील र उत्तरदायी बनाउँदै समतामूलक समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ शुरु गरिएको ‘म अघि बढ्छु’ अभियानलाई सार्थक तुल्याउन शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूलाई प्रशिक्षण दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा ५५ जना शिक्षक नायकहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेशराज मैनाली र जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी निरीक्षक होम अधिकारीले सहजीकरण गर्नुभएको थियो ।

झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्तरीय अनुगमन समितिका संयोजक उदय राणा मगरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन डम्बर अधिकारीले गर्नुभएको थियो ।