काँकरभिट्टा । यस वर्षको मनसुन सकिए पनि केही दिनदेखि भइरहेको वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा झापामा बुधबार एक जना बृद्धको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका वडा नम्बर १४ का ६२ वर्षीय कृष्ण सार्कीलाई स्थानीय हडिया खोलाले बगाउँदा मृत्यु भएको दुवागढी रेडक्रस उपशाखाका निवर्तमान अध्यक्ष बिश्व थापाले बताएका छन् ।

बुधबार बिहान खोला तर्नेक्रममा सार्की बाढीमा बगेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा दिउँसो ३ बजे करिब ३ किलो किलोमिटरको दूरीमा शव फेला परेको थापाले जानकारी दिए ।

पूर्वी पहाडसहित तराईका जिल्लामा मंगलबार रातिदेखि परेको पानीका कारण स्थानीय खोला, नदीमा बाढीको बहाव बढेको थियो । जसका कारण झापाका मेची, निन्दा, विरिङ्ग, कनकाई, रतुवा, मावा लगायत साना खोलामा पानिको सतह बढेको छ ।