झापा । आसन्न चाडपर्वलाई दुघर्टनारहित बनाउन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले सबैमा आग्रह गर्नुभएको छ । चाडपर्वका बेला मानिसहरुको आवतजात निक्कै बढ्ने भएकाले ती समयमा दुघर्टना बढ्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । यसै कुरालाई मध्यनजर गदैं नगरपालिकाका तर्फबाट नगर प्रमुख आचार्यले नजिकिँदै गरेको दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई दुघर्टनारहित बनाएर धनजनको क्षति हुन नदिई एक आपसमा हाँसीखुशी मनाउन समेत आम नगरबासीसहित सम्बन्धित व्यवसायीहरुमा आग्रह गर्नुभएको हो ।
बिहीबार नगपालिका सभाकक्षमा नगरभित्र सञ्चालन हुने साना तथा मझौला सवारीसाधन टेम्पो, पाइडल रिक्सा, सिटी सफारी, म्याजिक भेन तथा अन्य सवारी साधनहरुको भाडा दर एवम् व्यवस्थापन सम्बान्धमा सरोकारवालाहरुसँग भएको अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख आचार्यले यस्तो आग्रह गदैं यसतर्फ सबैजना सचेत हुनुपर्नैमा समेत जोड दिनुभयो । आफ्ना हरेक सवारीसाधनलाई यात्रुमैत्री बनाउन आग्रह गदैं प्रमुख आचार्यले आफ्नो पेशालाई मर्यादित बनाएर अनुशासित भएर जिम्मेवारीपूर्वक सञ्चालन गर्न समेत सम्बन्धित पक्षलाई सुझाव दिनुभयो ।
उहाँले हरेक सवारीसाधनको भाडा दरमा एकरुपता हुनुपर्ने बताउदैं चाडपर्वको मौका छोपेर कसैले पनि आफूखुशी भाडा बृद्घि नगर्न जोड दिनुभयो । यदि कहिकतै कसैले अहिले पनि सवारी मापदण्डअनुसार बढी भाडा असुल्ने गरेको भए तत्काल बन्द गर्न भन्दै प्रमुख आचार्यले यदि अनुगमनका क्रममा वा कुनै यात्रुले सम्बन्धित निकायमा उजुरी गरे त्यस्ता सवारीसाधन वा चालकलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिनुभयो ।
यातायात व्यवसायी तथा मजदुरका कहिँकतै कुनै समस्या भए तत्काल सम्बन्धित निकायमा राख्न अनुरोध गर्दै स्थानीय सरकार, यातायात व्यवस्था कार्यालयलगायतका संघसंस्थासँगको समन्वयमा मात्र भाडा बृद्घि गर्नुपर्ने उहाँको भनाइ थियो । संस्थागतरुपमा भाडा दर निर्धारण गर्न समेत उहाँले आग्रह गदैं सवारी सञ्चालन व्यवसाय समेत मानवीय सम्बन्धसँग गासिएकाले हरेक यात्रुहरुसँग मीठो, नरम बोलीचाली गर्न समेत हरेक यातायातसँग सम्बद्घ संघसंस्थाका पदाधिकारीहरुलाई जानकारी गराउनुभयो ।
हरेक सवारी धनी तथा चालकले आफ्ना सवारीसाधनका आवश्यक कागजात, सवारी चालक अनुमति पत्र चुस्त दुरुस्त राख्नुपर्र्ने उहाँको भनाइ थियो । आफ्ना कागजात कमजोर भए त्यसबखत दुर्घटना हुन गए आफू कमजोर हुने भएकाले समय समयमा सम्बन्धित निकायमा गएर कर तिर्न, कागजात नवीकरण गर्नसमेत उहाँको आग्रह थियो । सरकारलाई ढाँटेर वा कर छलेर कसैले व्यवसाय सञ्चालन गर्छ भने कुनै न कुनै बेला उ दण्डित हुने प्रष्ट पार्नुभयो ।
हरेकले चालक तथा यातायात व्यवसायीहरुले सवारी तथा ट्राफिक नियम पालना गर्नु पहिलो कर्तव्य रहेको उहाँले बताउनुभयो । यातायात व्यवसायी तथा मजदुरका समस्याप्रति आफू राम्रोसँग जानकार भएकाले कहिँकतै कसैले करका नाममा कसैलाई अनावश्यक दुःख दिए तत्काल नगरपालिका तथा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न उहाँले सबैलाई अनुरोध गर्नुभयो । नगरभित्रका सडकहरुका कारण यातायात व्यवसायी, चालक तथा मजदुरले समस्या भोग्नु परेको भन्दै नगरप्रमुख आचार्यले नगरपालिकाले ती सडकहरुको मर्मत तथा सम्भार र सुधार गरिरहेको प्रष्ट पार्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले चाडपर्वको मौका छोपेर यात्रुहरुसँग जथाभावीरुपमा भाडा असुल्नु गैरकानुनी काम भएको भन्दै त्यस्तो कानुनले बन्देज गरेको काम नगर्न सुझाव दिनुभयो । अहिले राष्ट्रिय राजमार्गमा राता रंगका यात्रुबाहक बसहरुका बारेमा सर्वसाधारणको गुनासो बढेको भन्दै उपप्रमुख उप्रेतीले त्यस पक्षका व्यवसायीहरुलाई समेत बोलाएर छलफल गरी समाधान खोज्ने प्रष्ट पार्नुभयो ।
उहाँले जथाभावी सवारीसाधन पार्किङ गर्दा सडक जाम हुने, बजारसहित विभिन्न ठाउँहरु अस्तव्यस्त हुने हुँदा त्यसलाई व्यवस्थित बनाउने र मेचीनगरलाई स्वच्छ सफा हरियाली र हराभरा बनाउने जिम्मा सबैको काँधमा रहेको बताउनुभयो । अहिले साँझ परेपछि बसहरुले छोटो दूरीसम्म यात्रुलाई चढ्न नदिने परम्परा बसेको भन्दैं तत्काल त्यसबारेमा समेत छलफल गर्र्ने उहाँले बताउनुभयो । यदि कसैले स्थानीय सरकारले बनाएको कानुनको पालना गर्दैन भने त्यस्ता व्यक्ति वा व्यवसायीहरुले कानुनी कारबाही भोग्ने हुँदा त्यसबेला नगरपालिकाले समेत उसलाई बचाउनतर्फ नलाग्ने उहाँको भनाइ थियो ।
वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले पार्किङ निषेध क्षेत्रमा कसैले जबरजस्ती आफ्ना सवारीसाधन पार्किङ गरे स्थानीय प्रशासनले दण्ड जरिवाना गर्ने भएकाले कसैलाई पनि अनावश्यकरुपमा दण्ड जरिवाना तिर्ने वातावरण आफैँ सिर्जना नगर्न सुझाव दिए । तोकेको ठाउँमा मात्र सवारीसाधन पार्किङ गरे दुर्घटनासमेत कम हुने उहाँको विश्वास थियो । अस्थायी ट्राफिक प्रहरी पोस्टका प्रमुख ट्राफिक प्रहरी नायव निरीक्षक कालीदास रेग्मीले कुनै पनि सवारी साधनले कुनै यात्रुलाई ठग्ने प्रयास गरेर मापदण्ड अनुसारभन्दा बढी भाडा लिएको उजुरी परे तत्काल प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी दिनुभयो ।

उहाँले सडकमा छाडा चौपायका कारण दुर्घटना बढने हुँदा चौपाय नियन्त्रणमा समेत ध्यान दिन चौपाय धनीलाई अनुरोध गर्नुभयो । प्रहरीले चाडपर्वका बखत चेकजाँचलाई तीव्र पार्ने भएकाले आफ्ना सवारी साधनका कागजात चुस्त दुरुस्तरुपमा राख्न, प्रहरीले खोजेका बेला तत्काल उपलब्ध गराउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन समेत सबैमा आग्रह गर्नुभयो । कसैलाई सवारी तथा ट्राफिक नियमको आवश्यक परे नगरपालिकाको समन्वयमा आफूहरुले तालिम तथा प्रशिक्षण प्रदान गर्ने विश्वास दिलाउनुभयो ।
सम्बन्धित पक्षले सचेतमात्र गराउने र कार्यान्वयन आफैँले गर्नुपर्ने उहाँको भनाइ थियो । दुर्घटनाको पीडा स्वयम् आफैँ र आफ्ना परिवारलाई थाहा हुने हुँदा दुर्घटनारहित चाडपर्व मनाउन पनि उहाँले सबैमा आग्रह गर्नुभयो । मेचीनगर क्षेत्रमा दुर्घटना कम गर्न नगरका विभिन्न ठाउँमा डमी ट्राफिक राखेको उहाँले प्रष्ट पार्नुभयो । सवारी नियम उल्लंघन गरे जोखिम बढ्ने भएकाले त्यसतर्फ सचेत हुन पनि उहाँले यातायात चालक व्यवसायीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी यातायात व्यवसायी संघसंस्थाका प्रमुख प्रतिनिधि तथा चालकहरुले आफूहरुले व्यहोर्नु परेको समस्याका बारेमा नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेतीलाई जानाकरी गराएका थिए । आफूहरु हरेक कानुन मान्न तयार रहेको भन्दैं उनीहरुले सडकका खाल्डाखुल्डी, दर्ता प्रक्रिया, पार्किङ, दिनानुदिन बढेको सवारीसाधनको संख्यालगायतका कारण आफूहरु समस्यामा परेको बताए । हरेक दिनजसो पेट्रोलियम पदार्थको मूल्य बढे पनि आफूहरु भने सात वर्षअघि निर्धारण गरेको भाडादरमा यात्रु बोक्न बाध्य भएको उनीहरुको गुनासो थियो । अब यी सवारीसाधनको व्यवस्थापनमा नगरपालिका सक्रिय हुन समेत आग्रह गरेका थिए । भारतीय नम्बर प्लेटका सवारीसाधनका कारण आफूहरु मारमा परेको उनीहरुको गुनासो थियो ।
यी सारा कुराको समाधानका लागि नगरपालिका अहोरात्र लागेको तथा यातायातलगायत अन्य संघसंस्थाहरुसँग समन्वय गरेर समाधानमा लाग्ने नगर प्रमुख आचार्यले सबैलाई आश्वासन दिनुभयो । हरेक समस्या नगरपािलकाले सम्बोधन गर्ने उहाँको भनाइ छ । कार्यक्रममा यातायात व्यवसायीहरु पूर्णबहादुर योङ्गहाङ्ग, भीमप्रसाद लामिछानेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन नगरपालिका कार्यपालिका सदस्य एवम् पूर्वाधार विकास समिति संयोजक कृष्ण कनालले गर्नुभएको थियो । सहभागी सबैको गुनासो आर्थिक विकास शाखा प्रमुख तथा खाद्य विश्लेषक दीपेन्द्र कार्कीले गर्नुभएको थियो ।