0 Shares

विनोद सापकोटा,
झापा । स्थानीय निर्वाचनपछि गठित स्थानीय सरकारका प्रतिनिधिले हरेक निर्माणका योजना तथा अवसरमा आफ्नो अनुकूलका कार्यकर्ता वा आफन्तलाई मात्र समेट्ने गरेको आरोप शिवसताक्षीको १० नम्बर वडामा भने झुटो सावित भएको छ ।

तर, उक्त वडाको अधिकांस विकासे योजना र अवसरमा वडा कार्यपालिकाले पहिलो प्राथमिकतामा प्रमुख प्रतिपक्षलाई राख्ने गरेको पाइएको छ । वडा अध्यक्ष कर्णवहादुर थापाले आफूसँगै चुनाव लडेका उम्मेद्वारलाई निर्माण उपभोक्ता समितिको अध्यक्षलगायत अन्य जिम्मेवार पद दिएर अनुकरणीय काम गरेका छन् ।

स्थानीय तहको निर्वाचनमा कर्णबहादुर थापा तत्कालीन एमालेबाट निर्वाचनमा उम्मेद्वार थिए भने उपभोक्ता समितिका अध्यक्ष अमृतबहादुर कार्की नेपाली कांग्रेसबाट स्पर्धी थिए । मतको ठुलो अन्तरमा पराजित बनेका कार्कीले वडा अध्यक्षसहित वडा कार्यपालिकाको हरेक योजनामा सल्लाह र सुझावसमेत दिने गरेका छन् ।

वडामा कुनै काम गर्नु पर्यो भने वडाध्यक्ष थापाले वडाका दिग्गज नागरिकसँग सरसल्लाह लिने-दिने गरेका छन् । वडाध्यक्षको कार्यशैली वडाका सबै नागरिकले रुचाएपछि उनी सबैका लोकप्रिय वडाध्यक्ष बन्न सफल भएका छन् । वडाध्यक्ष थापाले माइधार-आँपटारी सडक ग्राभेलको निर्माण उपभोक्ता समितिका अध्यक्ष निर्वाचनको निकटतम् प्रतिद्वन्द्वी कार्कीलाई बनाए भने एनसेल टावर पूर्वको कनकाई नहरको पुल निर्माण उपभोक्ता समितिको अध्यक्ष नेपाली कांग्रेसकै क्षेत्रीयस्तरका नेता सोमप्रकाश वनेमलाई बनाए ।

माइधार-दोमुखा सडकको सरदारे खोलाको पुल तत्कालीन माओवादीका नन्दु रायलाई बनाए भने सोही समितिको सचिवमा नेपाली कांग्रेसका सूर्य अधिकारीलाई सचिव बनाएका छन् ।

सो वडाका हरेक योजनामा अनियमितता छैन भन्ने कुराको पुष्टि पनि वडा कार्यपािलकाको कार्यशैलीले देखाएको स्थानीय वडाबासी बताउँछन् । जताततै आफ्ना नातागोता, कार्यकर्तालाई ठेक्का, निर्माण उपभोक्ता समितिको पदाधिकारीलगायतमा जिम्मेवारी दिएर अनियमितता भएको समाचार आफ्नो वडामा नभएको बताउँछन् स्थानीय कैलाश शिखर । उनी भन्छन्, ‘जनप्रतिनिधि हुन् त कर्णबहादुर थापाजस्ता, आँखामा हाल्दा पनि नबिझाउने ।’

वडामा थापाले नगरले नगरेकै काम गरेर पनि चर्चामा छन् । ०७५/०७६ को नगरले दिने वडा सिलिङ्ग बजेटबाट वडाका सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरे । कतिपय सुत्केरीका घरमा वडाध्यक्षसहित वडा कार्यपालिका सदस्य टोली नै बनाएर पोषण तत्व लिएर पुगे । थापाले भने, ‘चालु वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन पर्याप्त बजेट छुट्याएका छौँ ।’

वडामा अर्को लिम्बू समुदायको मातृभाषामा अध्ययन अध्यापनका लागि वडाले बजेट छुट्याएर नगरकै नौलो कामको थालनी गरेको छ । ‘वडा नम्बर १० लिम्बू समुदायको बाहुल्यता रहेको वडा हो’, वडाध्यक्ष थापाले भने, ‘यो कार्यक्रमका लागि चालु वर्षमा १ लाख छुट्याएका छौँ । कार्यक्रमले निरन्तरता पाउने छ ।’

वडाको साहित्यिक गतिविधि नामेट हुन नदिन वडा कार्यपालिकाले बजेट छुट्याएको छ । नगरमै उदाहरणीय बन्न सफल १० नम्बर वडा हरेक कारणले नगरमा १ नम्बर बन्ने गरेको सुनाउँछन् वडाबासी ।

वडाध्यक्ष थापा नगरकार्यपालिकाभित्रै अनुभवी र ज्येष्ठ हुन् । २०४९ सालदेखि वडाध्यक्ष भएरै उनले काम गरे । ०४९ सालको निर्वाचनमा उनी पहिलोपटक निर्वाचित भए । ०५४ सालमा पनि उनै कर्णबहादुर थापाले निर्वाचन जिते र ०५९ सालसम्म वडाको अध्यक्ष भए । त्यसपछि थापा वडामा क्रियाशील सर्वदलीय समितिको अध्यक्ष भएर काम गरे । स्थानीयबासी भन्छन्, ‘थापा नेतृत्वले गरेको काम सबैका लागि विवादरहित हुने गर्छ ।’

कर्णबहादुर थापाको अबको ध्येय वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने हो । उनले भने, ‘तिहारपछि यो पनि समस्या समाधान हुनेछ ।’ वडाको ठुुलो समस्याको रुपमा उनले कनकाई नदीको कटानलाई देखेका छन् । उनले भने, ‘तीन तहकै सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिधिलाई भेटेपिच्छे समस्या राख्ने गरेको छु ।’ वडाले मात्र त्यो राष्ट्रिय समस्या समाधान गर्न नसक्ने उनको ठोकुवा छ ।

कार्यपालिका सदस्य मन्दिरा पाठक, कमला रसाइली, हर्क सिगु र भाष्कर सिटौलाको टिम अव्बल रहेकै कारण १० नम्बर वडा अन्य वडाभन्दा फरक छ ।

निर्वाचनताका मतदातालाई दिएको बाचा ७५ प्रतिशत पूरा गरेको उनले दाबी गरेका छन् । ‘हामीले घोषणापत्रै जारी गरेका थियौँ, त्यहाँ लेखिएका र हामीसँगै निर्वाचन लडेका अन्य पार्टीका साथीहरुको बाचा पनि हामी नै वहाँहरुकै सहयोगमा पूरा गर्दे आएका छौँ ।’

पछिल्लोपटक वडाध्यक्ष भएपछि ३४ सालपछिको ठुलो समस्या समाधान गर्न पाएकोमा गर्व लागेको उनले सुनाएका छन् । सरदारे खोलाको पुल नहुँदाको समस्या उनी बसाइँ सरी आउँदैदेखिको हो । उनलाई लाग्थ्यो कुनै नेतृत्व तहमा पुगेँ भने यो समस्या समाधान गर्नेछु । आज उनले त्यो समस्या समाधान गरेका छन् र त गर्व गर्छन् ।