झापा । डेंगु रोगको नियन्त्रणमा सरोकारवालाहरुको भूमिकाबारे अर्जुनधारामा छलफल गरिएको छ । अर्जुनधारा नगर स्वास्थ्य शाखाको आयोजनामा अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

डेंगु रोगको बारेमा सामान्य जानकारी, रोकथाम तथा नियन्त्रणका लागि हालसम्म गरिएको प्रयासहरुबारे जानकारी गराइएको कार्यक्रममा नगरका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा शाखा प्रमुख मुकुन्द बस्नेतले डेंगु टेस्ट कहिले र कसले गर्ने ?, डेंगुमा अस्पताल भर्नाका लागि संकेत, उपचार, नियन्त्रणका उपाय, गम्भीर रोगको लागि जोखिमपूर्ण बिरामीहरुलगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्षहरु दुर्गाप्रसाद दाहाल, ध्यानबहादुर भारती, नवराम ढुंगाना, पूष्पकुमार प्रसाईं र बलदेवसिंह गोम्देन, नगर सामाजिक समितिका संयोजक दिलिप गुरुङ, नगर पूर्वाधार समितिका संयोजक रमेश त्रिखत्री, नगर कार्यपालिका सदस्यद्वय सकुन्तला बराल र हरिमाया दाहाल, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको उपस्थिति रहेको थियो ।

यसैबीच शाखाको आयोजनामा नगरस्तरीय स्वास्थ्य संस्थाहरुको गत आर्थिक वर्ष ०७५/०७६को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

शनिश्चरे प्राथमिक स्वास्थ्य केन्द्रका सीनीयर अहेव डम्बरबल्लभ मिश्रलगायतले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख बस्नेतले गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूर्तेलले विषयगत शाखाहरुले समय तालिका मिलाएर एकै दिन कार्यक्रम आयोजना गर्दा प्रभावकारी हुने भन्दै निर्देशन दिएका थिए ।