बिर्तामोड । सेभेन स्टार सेक्युरिटी सर्भिस बिर्तामोडले शुभकामना आदानप्रदान तथा सुरक्षा गार्डलाई सुरक्षासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सेभेन स्टारका प्रबन्ध निर्देशक बिजय बस्नेतको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीको प्रमुख आतिथ्य र इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनबहादुर थापाको विशेष आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रहरी उपरीक्षक मैनालीले देशको सुरक्षासँगै मानिसको जीउधनको सुरक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी सुरक्षा निकायको हुने भएकाले चाडपर्वको समयमा समाजमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न प्रहरी सक्रिय हुनुपर्नेमा जोड दिए । उनले दसंै, तिहार र छठजस्ता चाडपर्वको समयमा कुटपिट, चोरी, पाकेटमारी, लुटपाट, जुवा, अवैध मदिरा बिक्री, आगजनी, तस्करी, दुर्घटना, ठगीजस्ता आपराधिक क्रियाकलाप बढी हुने गरेको बताए ।

उनले चाडपर्वको अवसरमा शान्ति सुरक्षालाई सुदृढ बनाएर जनतालाई ढुक्कसँग चाडपर्व मान्ने वातावरण बनाइएको बताए । सेभेन स्टारमा कार्यरत् सुरक्षा गार्डलाई इमान्दार र कर्तव्यनिष्ठ भएर ड्युटी गर्न र चाडपर्वको समयमा अझ सक्रिय हुन आग्रह गरे ।

त्यस्तै इप्रका बिर्तामोडका प्रनाउ थापाले चाडपर्वको समयमा हुने आपराधीक गतिविधि रोक्नलाई झापाको सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको बताए । उनले चाडपर्वमा जुवातासमा समेत कडाइ गरिएको बताउँदै उनले ट्राफिक नियमको उल्लंघनजस्ता क्रियाकलाप बढी हुन चाडपर्वमा सडक सुरक्षालाई मुुख्य प्राथमिकतामा राखेर दुर्घटना रोकथाम, यात्रुका गुनासाको सुनुवाइ र यात्रु तथा सवारीको सुरक्षा गर्ने बताए ।
दसंै, तिहार र छठलगायतका चाडपर्वको शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा सेभेन स्टारका सञ्चालक मोहनविक्रम मल्ल, सुपरभाइजर चन्द्र आलेलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।