पर्वत पोर्तेल,
काँकडभिट्टा । मेचीनगर ६ की एकल महिला मनकुमारी उप्रेती बिहानको ९ बज्नु अगावै नेपाल बैंक पुगिन् । उनी पुग्दा भत्ता लिन पुगेका वृद्धवृद्धाको लाइन लामो थियो । कोही झरीमा रुझ्दै त कोही छाता ओडेर भत्ताको पर्खाइमा बसेका थिए । मनमायाले भनिन्, ‘तीन दिनदेखि झरी परेर आउनै सकिनँ । झरी नरहने छाँट नदेखेपछि आएँ ।’

दसैं नजिकिँदै छ । मनमाया जस्ता एकल, दलित र ७० वर्ष नाघेका वृद्धवृद्धा तीन दिनदेखि झरीमा रुझ्दै भत्ता थाप्न लाइनमा छन् । भत्ता थापेर दसैंमा मिठो मसिनो खाने योजनामा वृद्धवृद्धा छन् । मेचीनगर नकलबन्दाकी पावनी राजवंशी ढिला आएकाले लाइनको अन्तिममा छिन् । उनलाई आज दिनभरिमा भत्ता थाप्न सक्छु भन्ने आशा छ ।

सरकारले पाका वृद्धवृद्धा दलित, एकल महिलालगायतलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर, भत्ता थाप्न उनीहरूलाई ठूलै युद्ध जितेजस्तो हुने गरेको छ । कहिले चर्को घाम त, कहिले दर्के झरीमा वृद्धवृद्धा वडो कष्टका साथ भत्ता थाप्न बाध्य छन् ।

‘स्थानीय सरकारले पाकालाई घरमै भत्ता पुर्‍याउने प्रबन्ध गर्न जरुरी देखिन्छ’, रिडर्स झापाका सदस्य सौरभ मैनाली भन्छन्, ‘यस्तो सास्ती कतिन्जेलसम्म ?’ सरकारले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, लोपोन्मुख समुदाय र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

मेचीनगर नगरपालिकाका अनुसार पहिलो चौमासिकको भत्ता असोज पहिलो साता, दोस्रो चौमासिकको माघ पहिलो साता र तेस्रो चौमासिकको भत्ता जेठ पहिलो साता वितरण गर्दै आएको छ ।

यो वर्ष करिब ४० करोड हाराहारीमा सामाजिक भत्ता वितरण गर्ने जनाएको छ । नगरका १५ वटै वडासहित १३ हजार ३ सय २९ जनालाई भत्ता उपलब्ध गराइएको जनाएको छ । सामाजिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले प्रथम चौमासिकमा १४ करोड १२ लाख ९८ हजार ४ सय रुपैयाँ वितरण गरिने जनाए ।

७० वर्ष नाघेका जेष्ठ नागरिकले मासिक ३ हजार, ७० वर्ष नाघेका जेष्ठ दलितले मासिक ३ हजार, ६० वर्ष माथिकाले मासिक २ हजार, ७० वर्ष नाघेका एकल महिलाका हकमा मासिक ३ हजार, ७० मुनिकाले मासिक २ हजार, पूर्ण अपांगता भएका व्यक्तिले मासिक ३ हजार, आंशिक अपाङले मासिक १ हजार ६ सय, ५ वर्ष मुनिका दलित बालबालिकाले मासिक ४ सय, ७० नाघेका लोपोन्मुख समुदायका व्यक्तिले मासिक ४ हजार र ७० वर्ष कमका लोपोन्मुखले मासिक ३ हजार रुपैयाँ सरकारले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

विगतमा नगरपालिका र वडा कार्यालयबाट वितरण हुने भत्ता केही वर्षयता सम्बन्धित वडा नजिकको नेपाल बैंकबाट वितरण हुँदै आएको छ । तर, संघीय संरचनापछि स्थानीय सरकारले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मार्फतसम्बन्धित व्यक्तिको नाममा खोलिएको बैंक खातामा नगरले सोझै रकम जम्मा गर्दै आएको छ ।

मेचीनगरले नेपाल बैंक र धुलाबारी शाखा, एक्स्ल विकास बैंक काँकडभिट्टा, एनआइसी एसिया बैंक धुलाबारी, ग्लोबल आईएमई बैंक धुलाबारी र चारआलीमा रकम पठाउने गरेको कान्तिपुरमा समाचार छ ।