0 Shares

इटहरी । इटहरीमा एक युवतीमाथि सामुहिकरुपमा जबरजस्ती करणी गर्ने चार जना पक्राउ परेका छन् । बसभित्रै जबरजस्ती गरिरहेका ती युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धरानबाट बिराटनगर जाँदै गरेको को १ ख ४६२७ नम्बरको बसका परिचालक अर्थात कन्टेक्टर नितेश घिमिरे, सुमन मग्रान्ती र आशिष कार्कीले बसको ढोका बन्द गरी इटहरी १० स्थित बिराटनगरलाईनमा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार घटना राति करीब १० बजे भएको हो । ‘बसका पुरानो कन्टेक्टर नितेश भन्नेले रक्सीसमेत खुवाएर ती युवतीलाई बलत्कार गरिरहेका रहेछन्’, भण्डारीले भने, ‘बसका स्टाफ तथा अन्य बसका स्टाफहरुको समेत मिलेमतो रहेछ ।’

उनले घटनामा संलग्न मोरङ सुन्दरहरैँचा नगरपालिका १२ का ३३ बर्षीय बिकास कसाई, झापा सुरुङ्गा नगरपालिका ४ बस्ने २२ बर्षीय सुरज थापा, सिरहाको लहान नगरपालिका ४ बस्ने २७ बर्षी सुरेन्द्र भुजेल, मोरङ बेलबारी ७ बस्ने आशिष कार्कीलाई पक्राउ गरेको जानकारी दिए ।

उनीहरुको जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परीक्षणको लागि पठाईएको थियो । त्यस्तै, सुमन मग्राती र नितेश घिमिरे फरार रहेकाले उनीहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । आरोपीहरुले सडक छेउमै गरेको यो हर्कतबारे स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।