बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिएन्डसी हस्पिटल चाडपर्वको समयमा पनि २४सैँ घण्टा सेवा सुचारु हुने भएको छ । दसैँ भित्रिसकेको अवस्थामा हस्पिटलले ओपीडी सेवा सुचारु रहने जानकारी गराएको हो ।

सञ्चारकर्मीसँगको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले स्वास्थ्य बिमाको सेवाबाहेक अन्य सेवा सञ्चालनमा रहने बताए । हस्पिटलको ओपीडी दसैँ, तिहार र छठ जस्ता चाडपर्वमा पनि २४सैँ घण्टा खुला रहने उनले बताए । हस्पिटल आफू अनुकूल खोल्नेभन्दा पनि सधैँ खोलिनुपर्छ भन्ने मान्यताले सेवा सुचारु हुने उनले प्रष्ट पारे ।

यसैबीच, हस्पिटलले एक वर्षको अवधिमा एक लाख ४२ हजार जनालाई ओपीडीबाट सेवा प्रदान गरेको जानकारी दिइएको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार हस्पिटल सञ्चालनम आएको छोटो अवधिमा जटिल प्रकारका विभिन्न रोगको शल्यक्रिया गरी बिएन्डसीले उपचार प्रदान गरेको छ ।

यसैबीच, दक्षिणपूर्वी एसियाकै नमुनाको रुपमा पूर्वाञ्चल क्यान्सर हस्पिटलको तयारी अन्तिम पुगेको कार्यकारी निर्देशक गिरीले बताएका छन् । क्यान्सर हस्पिटल सञ्चालनका निम्ति उपकरण जडान गर्ने काम धमाधम भइरहेको छ ।