रमेश समदर्शी,
अर्जुनधारा । झापा अर्जुनधाराका एक युवाले छिमेकी भाइ राजेश परियारलाई प्रत्येक दसैँमा सहयोग गर्थे । कहिले मासु त कहिले कपडा । कहिलेकाहीँ अरु खाद्यान्न उनको रोजाइमा पथ्र्यो । परियारको परिवारका लागि प्रत्येक वर्षको दसैँमा उनी अभिभावकझैँ बन्थे ।

यसपालि त्यस्तो भएन । उनको अभिभाकत्वको जिम्मेवारी अझ बढेर गयो । उनले संख्या बढाएर चार पुराए । उनी हुन्, अर्जुनधारा ७ निवासी प्रदिप खड्का । पूर्व खेलाडी उनी लामो समय विदेशमा बसेर आएका हुन् । उनले यसअघि पनि परियारको परिवारलाई सहयोग गर्दै आएका थिए ।

तर, यस वर्ष भने त्यस्तो रहेन । दसैँ भित्रिसकेको अवस्थामा उनले बिहीबार र शुक्रबार गरेर आफ्ना गाउँमा भएका विपन्न चार परिवारलाई खाद्यान्न वितरण गरे । तेक्वान्दोका पूर्व खेलाडी खड्काले दयालु मनलाई फराकिलो बनाएर यसपटक भने विपन्न चार परिवारलाई रोजे ।

सधैँ देखिरहेका अनुहारहरु जो सधैँ अभावमा बाँचिरहेका छन् । दसैँ भित्रिसक्दा पनि मुहारमा अभावै अभावको चिन्ता प्रष्ट देखिन्छ । उनी सोचमग्न थिए । यो दसैँमा मिठो मसिनो जोहो गर्नका लागि उनले १० हजार छुट्याए ।

छिमेकी दाइ अजय सिवाकोटीको घरमा एउटा ठेला थियो । बिहीबार चार बोरा चामल किनेर ल्याए अनि निस्के ठेलामा छिमेकको घरतिर । राजेश परियारको परिवारलाई सँगै उनको नजरमा परेका थिए, अन्य दुई दलित परिवार र एक सापकोटा परिवार ।

‘नहुनुको पीडा मलाई थाहा छ’, उनले भने, ‘विदेशमा बस्दा धेरै दुःख गरेँ त्यो बेला नहुनेहरुलाई सम्झन्थेँ ।’ आफूले धेरै केही गर्न नसके पनि आफ्ना वडामा बसेका विपन्नलाई थोरै भए पनि खाद्यान्न दिएको उनले बताए ।

उनले राजेश परियार, राधिका परियार, प्रमिला नेपाली र कृष्ण सापकोटाको घरमा पुगेर बिहीबार २५ केजी तौलको चार बोरा चामल बाँडे । भोलिपल्ट (आज) उनले पाँच लिटर तेल र दुई किलो दाल बोकेर तिनै विपन्न परिवारको आँगन टेके खड्काले ।

१० वर्ष अघिदेखि नै उनले राजेश परियारको परिवारलाई सहयोग गर्दै आएका थिए । विदेशबाट छुट्टीमा फर्किंदा पनि परियारलाई लुगाफाटा र मासु किनिदिने गरेका थिएछन् । प्रचारमा आउन नचाहने उनले यसपटक प्रतिघर एक हजारका दरले मासु किनेर दिने सोचेका छन् ।

राजेश परियारबाहेक अरु तीन परिवार खड्काभन्दा पाका उमेरका छन् । खानेकुरा लिएर घरमै पुगेका खड्कालाई उनीहरुले आशीर्वाद दिँदै खुसी व्यक्त गरेका थिए । उनका सहयात्री तथा सामाजिक अभियन्ता कमल पोख्रेलका अनुसार खड्का वैदेशिक रोजगारीमा रहँदा पनि सामाजिक कार्यका लागि धेरथोर सहयोग गर्दै आएका थिए ।