अर्जुनधारा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैंको अष्टमीका दिन गर्दै आएको ‘आमा सम्मान’ कार्यक्रमबाट यसपाली बिर्तामोड-२ं, चारपाने झापाकी मायादेवी रिजाललाई आज सम्मान गरिँदैछ ।
मिर्गौलापीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराहरुको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल उनै आमालाई प्रतिष्ठानले सम्मान गर्न लागेको हो ।
भोजपुर पख्वाभिरालेमा २०१५ साल वैशाख ६ गते बुवा जनकलाल चम्लागाई र आमा डिकुरादेवी चम्लागाईको कोखबाट उहाँको जन्म भएको थियो । विवाह भएको १९ वर्ष नबित्दै २०५० सालमा श्रीमान् शिवप्रसाद बितेपछि श्रीमान्को अभावको बावजुद आफ्ना तीन सन्तानलाई स्नातोकोत्तरसम्मको अध्ययन गराउन सफल हुनु भएको थियो । उहाँका सन्तानमध्ये जेठा राजनप्रसाद र माइला भक्तराज यतिखेर सरकारी जागिरमा आवद्ध छन् भने कान्छा छोरा पनि जागिरका लागि तयारी गरिरहेका छन् ।

छोरीहरु र छोराप्रतिको गहन जिम्मेवारीलाई काँधमा लिएर उनीहरुलाई समाजमा स्थापित हुन अभिप्रेरित गरिरहेकी हुनाले यहाँसम्म आइपुग्दा सामाजिक र व्यावहारिकरुपमा आफ्ना सन्तानलाई परिपक्व पार्न सफल भएको र आफ्नो छुट्टै सामाजिक पहिचानसमेत स्थापित गर्न सफल हुनुभएकोले मायादेवी रिजाललाई नगद ११ हजारसहित सम्मानपत्र र दोसल्लाले सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराईले बताउनुभयो ।
आज दिउँसो झापाको शनिश्चरेस्थित सामुदायिक भवनमा एक कार्यक्रमबीच उहाँलाई उक्त सम्मान प्रदान गरिँदैछ । साहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा उक्त आमा सम्मान कार्यक्रम २०६७ सालदेखि आयोजना गर्दै आएको छ । यसअघि यस सम्मानबाट ८ जना आमाहरु सम्मानित भइसक्नुभएको छ ।