झापा । प्रदेश नं. १ को झापा, उदयपुर र सोलुखुम्बुमा भएका अलग अलग घटनामा परी तीन जनाको ज्यान गएको छ । झापामा लिङ्गे पिङ बनाउँदा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । इलाम नाम्सालिङका ५७ वर्षका रामलाल रिसालको मृत्यु भएको हो ।

बिर्तामोडमा पिङ गाड्ने क्रममा हरियो बाँसले बिजुलीको तार छोएको थियो । शनिबार साँझ ५ बजेको समयमा करेन्ट लागेर घाइते रिसालको उपचारका क्रममा बिर्तासिटी अस्पतालमा राति निधन भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

यसैगरी, उदयपुरको कटारी नगरपालिका-२ गरासमा सुमोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुलीका रुपेन कुमारको मृत्यु भएको हो ।


शनिबार साँझ ओखलढुंगबाट धरानतर्फ आउँदै गरेको को १ ज ३४ नम्बरको सुमोको ठक्करबाट ज ५ प ७५५७ नम्बरको मोटरसाइकलमा सवार रुपेन कुमार गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि धरानतर्फ लैजाँदै गर्दा राति मृत्यु भएको हो ।

त्यस्तै, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका-११ बरडाडाँमा मध्यराति बोलेरो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

राति ११ बजेको समयमा बाटो माथिबाट बा १५ च ९४२० नम्बरको बलेरो अनियन्त्रित भएर खस्दा नेचातर्फ जाँदै गरेको अर्को ना १ ज ५३४२ बोलेरो माथि बजारिएको थियो । दुर्घटनामा बोलेरो चाकल २१ वर्षीय बलबहादुर खड्काको ज्यान गएको हो ।

अर्का सुमो चालक पासाङकाजी शेर्पा, वर्ष २७ को मोहन बस्नेत, निजको श्रीमती वर्ष २८ की रिया बस्नेत, निजको छोरा वर्ष ७ को रियाज बस्नेत, वर्ष २४ की रुषा बस्नेत घाइते हुनुभएको छ । घटनामा रमना राई, वर्ष २६ की गीता बस्नेत, निजको छोरा वर्ष ७ को आयुस बस्नेत र रामेछाप नगरपालिका-६ बस्ने वर्ष २४ को गजेन्द्र लामा सामान्य घाइते हुनुभएको छ ।

सबै घाइते यात्रुहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।