अर्जुनधारा । अम्बिका प्रतिष्ठान झापाले हरेक वर्ष दशैंको अष्टमीका दिन गर्दै आएको ‘आमा सम्मान’ कार्यक्रमबाट यसपाली बिर्तामोड-२ं, चारपाने झापाकी मायादेवी रिजाललाई आइतबार सम्मान गरिएको छ ।

मिर्गौलापीडित श्रीमान् शिवप्रसाद रिजालको असामयिक निधनपछि अनेक दुःखकष्ट सहेर आफ्ना नाबालक तीन छोराहरुको लालनपालन गरी सामाजिक संस्कारसँगै शिक्षादीक्षा दिएर प्रतिष्ठित तथा आर्थिक सवल बनाउन सफल उनै आमालाई प्रतिष्ठानले सम्मान गरेको हो ।

विवाह भएको १९ वर्ष नबित्दै २०५० सालमा श्रीमान् शिवप्रसाद बितेपछि उहाँले गर्नुभएको संघर्षको जीवनगाथा यस्तो छ…

दशैंले झ्याप्पै छोपेको हुन्थ्यो । अष्टमी, नवमीका दिन अरुको घर-आँगनमा खसीबोका ढालेर सपरिवार रमाइरहेका हुन्थे । म भने बेमौसमी सब्जी बेचेर आधा केजी मासु किनेर बाबुहरुलाई खुशी बनाउँथें । यसरी नै टर्थ्यो दशैं ।

नाबालक बालबच्चालाई श्रीमानले छाडेर गएपछि यहाँसम्म आइपुग्दा भोगेका आफ्नो संघर्षको जीवनगाथा सुनाइरहँदा ६१ वर्षिय एकल महिला मायादेवीको बेलाबेलामा गला अवरुद्ध हुन्थ्यो ।

भोजपुर ४ नम्वर पख्वाभिरालेमा बुबा जनकलाल चम्लगाईं र आमा डिकुरादेवी चम्लगाईको कोखबाट जन्म भएको उनको १६ वर्षको कलिलो उमेरमै झापा, चारपानेका शिवप्रसाद रिजालसँग २०३१ सालमा विवाह भएको थियो । विवाह भएको १९ वर्ष बित्न नपाउँदै दुवै मृर्गौला खराब भएका कारण २०५० सालमा श्रीमान शिवप्रसादले धर्ती छाडेपछि तीन सन्तान हुर्काउनेदेखि घर व्यवहार चलाउनेसम्म जिम्मा आइलाग्यो, उनको काँधमा ।

आज उनको श्रीमान बितेको २६ वर्ष कटेको छ । तिनै २६ वर्षभित्र दुःख कष्ट गरेर उनले आफ्ना तीन सन्तानलाई नै स्नातकोत्तर गराइसकेकी छिन् । प्रत्येक वर्ष वडादशैंको महाअष्टमी तिथिका दिन अम्बिका प्रतिष्ठानले धैर्यवान्, संघर्षशील साहसी आमालाई सम्मान गर्दै आइरहेको छ ।

यस वर्ष भने यस्तै सुयोग्य आमाको खोजी गर्ने क्रममा मायादेवीसँग ठोकिन पुग्यो, प्रतिष्ठान । उनको पीडा र आफ्ना सन्तानलाई शिक्षित नागरिक बनाउँन उनले गरेको संघर्ष प्रतिष्ठानको विधानसँग मेल खाएको हुँदा यो वर्ष अम्बिका प्रतिष्ठानले आमाको रुपमा मायादेवीलाई उभ्याएको हो ।

मायादेवीका ३ छोरामध्ये जेठा छोरा राजनप्रसाद रिजाल र माईला छोरा भक्तराज रिजाल सरकारी जागिरे छन् । ती दुवैले अंग्रेजी र नेपालीमा स्नातकोत्तर गरिसकेका छन् । भित्रिएका बुहारीहरु पनि शिक्षित छन् । कान्छा छोरा दुर्गाप्रसाद रिजालले पनि अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्, यलम्बर टाइम्सले लेखेको छ ।

‘छोराहरुलाई पेटभरि खुवाएर राति ११ बजेसम्म पढाउँदा पाएको नतिजा राम्रै हुँदोरहेछ’, मायादेवीले खुसी साटिन्, ‘श्रीमान बित्दा सासुससुराले गरिखान भनी जग्गा त दिनुभएको थियो । नाबालक बालबच्चा च्यापेर खेती गर्दा कति नै पो अन्न फल्थ्यो र ? त्यसले पुग्दैन थियो । सानो करेसाबारीमा बेमौसमी तरकारी खेती गर्थें । त्यसबाट उब्जिएको तरकारी बजारमा बेचेर नानीहरुका लागि खाता कलमको जोहो गर्थें ।’

राति अबेरसम्म बारीमा काम गरेर नौंरदश बजे खाना पकाउँदा छिमेकीले राति एक्लै मिठोमसिनो पकाएर खाई भन्नसमेत पछि हटेनन् । जेठो छोरो अलि ठूलै थियो । मैले खाना पकाइन्जेलसम्म भाइहरुलाई उसले रेखदेख गथ्र्यो । खाना खाइसकेपछि म राति ११ बजेसम्म उनीहरुलाई पढाउँथे । झुपडी घर थियो । ‘बाबुहरुले उत्कृट नतिजा ल्याउँथे । केही छिमेकीहरु भने बाबुहरुको नतिजा देखेर तीन छक्क पर्थे’, उनले विगत सम्झिइन् ।

जग्गा जमिन भएर अन्न प्रसस्त नफल्दा कान्छो छोरोले हलो जोतोस् जस्तो लाग्थ्यो तर एसएलसीमा अब्बल अंक ल्याउँदा उसको बुबालाई सम्झेर आँखाभरि आँशु आएको सुनाइन् । आमाले यसो भनिरहँदा आमाको छेवैमा बसेका दुर्गाप्रसादले थपे, ‘ममी दिनरात नरोएको क्षण थिएन । मैले, एसएलसी पास गरें आमा भनेर सुनाउँदा अझ भक्कानिनु भयो ।’

मायादेवीका जेठा छोराबुहारी हाल अमेरिकामा छन् । डिभी परेका कारण सरकारी जागिर छोडेर अमेरिका गएका हुन् । माइलो छोरो बनेपाको हिमालय सेकेण्डरी स्कूलमा जागिरे छन् । कान्छा बैंकमा जागिरको प्रोसेसमा छन् । चारपाने गाउँपालिकादेखि १ सय मिटर दक्षिण अर्थात् बिर्तामोड नगरपालिका-२ मा उनको पक्काको १ तले घर छ । त्यही घरमा उनी खुशीसाथ माइली बुहारी र कान्छा छोरासँगै बसेकी छिन् ।

‘सानैदेखि काम गर्ने बानी भयो’, देवीमायाले भनिन्, ‘अहिले पनि १ माउ गाई र खसी, बाख्रा पालेर बसेको छु ।’

मायादेवीले विवाह भएको ३१ वर्षपछि तिज मनाउन माइतघर भोजपुर जाँदा आफूसँगको साथीहरु तीन छक्क परेको सुनाउँदै हसिलो मुद्रामा भनिन्, ‘त्यो बेला पैसा थिएन्, जान पाइएन । अहिले सबैथोक छ तर जाने मन हराएको छ ।’