चाडपर्व र विदाको समयमा विदेशी मात्रै नभएर नेपालीहरु पनि घुम्न जाने ट्रेन्ड बढेको छ । कहाँ कसरी जाने भन्ने अन्यौल हटाउनका लागि विभिन्न ट्राभल एजेन्सीले टुर प्याकेज पनि ल्याइरहेका छन् । सरकारले आगामी तीन महिनापछि सन् २०२० मा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसाथ नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । विदेशी पर्यटक मात्रै नभएर आन्तरिक पर्यटकका लागि पनि सरकारले प्रोत्साहन गरेको छ ।

यसै सन्दर्भमा दशैको लामो विदामा घर परिवार र साथीभाइसँग घुम्नका लागि कहाँ जाने भन्ने अन्यौल छ भने तपाईका लागि यि ठाउँ उपयुक्त हुन सक्छन् । सिन्धुपाल्चोकमा बन्जि जम्पदेखि चितवनमा हात्ती सफारी , पोखरा, लुम्बिनी, मुस्ताङ, लाङटाङ, जीरी, घलेगाउँ, अन्नपूर्ण यि ठाउँ उपयुक्त हुन सक्छन् ।

नगरकोट

काठमाडौंबाट नजिकै रहेको नगरकोट प्रमुख पर्यटकीय गन्तव्य हो । बसबाट यात्रा गरेर एक घण्टामै सजिलै नगरकोट पुग्न सकिन्छ । यो समय नगरकोट घुम्नका लागि उपयुक्त समय पनि हो । बस्नका लागि सस्तादेखि महँगा होटल छन् । सूर्योदय र सूर्यास्त हेर्न पनि नगरकोट प्रख्यात छ ।

केरुङ

छिमेकी मुलुक चीनको ‘रसुवागढी–केरुङ’ नाका जोडिएको पर्यटकीय क्षेत्र लाङटाङ र ‘रसुवागढी-केरुङ’ मा अहिले निकै चहलपहल हुन्छ । यस क्षेत्रको यात्राका लागि उपयुक्त मौसम यही महिना नै हो । दसैं बिदाको समयमा यस क्षेत्र फोटो र भिडियोको सौखिनहरूका लागि अति उपयुक्त हुन्छ । भन्सार नाका क्षेत्र भएकाले अहिले यहाँ पुग्नलाई समस्या छैन ।

काठमाडौंबाट जम्मा १७० किमिको स्याफ्रुबेंसीसम्म बस पाइन्छ । मौसम राम्रो भयो भने जिपमा थाङजिमसम्मै पुगिन्छ । बालाजुबाट यहाँसम्म पुग्न करिब ८ घण्टा मात्र लाग्छ ।

लाङटाङ

लाङटाङ राजधानीबाट नजिको पर्यटकीय गन्तव्य हो । काठमाण्डौ उपत्यकाबाट नजिकको हिमाल लाङटाङ हेर्नका लागि तीन दिनमा सो क्षेत्रमा पुगन सकिन्छ । काठमाण्डौबाट एक दिनमा स्याफ्रुबेशी पुगेर बास बस्ने । स्याफ्रुबाट लाङटाङ खोलाको तिरै तिर एक दिनको यात्रामा लामा होटलमा गएर बास बस्न सकिन्छ । लामा होटलबाट विहान हिडेपछि करिब ६ घण्टाको यात्रापछि लाङटाङ पुग्न सकिन्छ । बास बस्नका लागि होटलहरुको व्यवस्था छ । साथमा १२ हजार रुपैयाँ लिएर गए दुई दिन बास बसेर काठमाडौ फर्कन सकिन्छ । प्रतिव्यक्ति खाना ५०० रुपैयाँ देखि ६ सय ५० रुपैयाँ सम्म लाग्छ । लाङटाङ पुग्दा हिमालको काखमा बसेको अनुभुती हुन्छ ।

गोसाईकुण्ड

काठमाण्डौबाट दुई दिनमा पुग्न सकिने धार्मिक तथा पर्यटकीय गन्तव्य हो गोसाईकुण्ड । गोसाइकुण्ड जादाँ बाटोमा झर्ने झरना, कुण्ड नजिकै देखिने भैरवकुण्ड, सूर्यकुण्ड, यात्रारत अबस्थामा देखिने लाङटाङ हिमाल, गणेश हिमालको आकर्षणले जो कसैलाई प्रफुल्लित बनाउँछ । काठमाडौबाट सात घण्टाको बस र जिपको यात्रापछि एकै दिनमा रसुवाको सदरमुकाम धुन्चे पुग्न सकिन्छ ।

धुन्चेबाट उकालै उकालो हिडेपछि एकै दिनमा गोसाइकुण्ड पुग्न सकिन्छ । गोसाइकुण्ड जाने बाटोमा बिसालु फुल फुल्ने र उच्च भेग भएकाले लेक लाग्न सक्छ । टाउको दुखे वाकवाकी लागे छिट्टै तल झर्नु राम्रो उपाय हो । साथमा लसुन, पानी, टाउको दुखेको औषधी नछुटाउनु होला । खाना खर्च र बास सहित प्रतिव्यक्ति १० हजार रुपैयाँ साथमा भए पुग्छ ।

ककनी र नुवाकोट दरबार

नुवाकोटको ककनी काठमाडौंबाट जम्मा २५ किमिको यात्रामै सजिलै पुग्न सकिने गन्तव्य हो । प्रकृतिप्रेमीका लागि यो स्थान उपयुक्त गन्तव्य हो । यहाँबाट पश्चिममा लमजुङ र मनास्लु हिमाल, उत्तरमा गणेश र लाङटाङ तथा पूर्वमा गौरीशंकर हिमाल नांगो आँखाले स्पष्टसँग देख्न सकिन्छ । यसैगरी, नुवाकोटको ऐतिहासिक साततले दरबार घुम्नका लागि उपयुक्त ठाउँ हो ।

राजधानीबाट एकै दिनमा पुगेर फर्केन सकिने भएकाले विदाको समयमा धेरै मानिसहरू त्यहाँ पुग्ने गर्छन् । त्रिशूली र देवीघाट विद्युत् गृहको अवलोकन पछि त्रिशूलीमा एक रात बसेर पुनः ट्राउट हाइवेको माछा खाँदै पर्यटकीय गन्तव्य स्थल ककनीबाटै फर्किन सकिन्छ ।

जिरी

नेपालको स्विट्जरल्यान्ड भनेर चिनिन्छ दोलखाको जिरी । राजधानीबाट करिब दुई सय किलोमिटर टाढा रहेको जिरी पुगेपछि बेग्लै अनुभूति हुन्छ । काठमाडौंबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखाको सदरमुकाम चरिकोट हुँदै जिरी पुग्न सकिन्छ । जिरी बजार कुनै समयमा सगरमाथाको प्रवेशद्वारका रूपमा परिचित थियो ।

सौराहा

नेपालको तेस्रो पर्यटकीय गन्तव्य हो, चितवनको सौराहा । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनमा विश्वमै चर्चित छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमार्फत जंगल सफारी गर्नु हो । हात्ती तथा जिप सफारी गर्दै बाघ, गैंडा र घडियाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर देखिन्छन् ।

यसको अलावा यहाँ थारू संस्कृतिसमेत अवलोकन गर्न सकिन्छ । सौरहामा करिब ५ हजार रुपैयाँमा २ रात तीन दिन सौराहा घुम्न पाइनेछ । दसैं र नयाँ वर्षमा आन्तरिक पर्यटकीय भ्रमणका लागि सौराहा उत्तम गन्तव्य हुन सक्छ ।

पोखरा

पर्यटकीय नगरी पोखरा दसैं बिदामा घुम्न जाने नेपालीका लागि उपयुक्त गन्तव्य हो । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ्रे हिमाल पनि यहीँबाट देखिन्छ । पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, बेगनाश ताललगायतका मनमोहक ठाउँहरू छन् ।

सराङकोट यहाँको अर्को आकर्षण हो । सराङकोटबाट प्याराग्लाइडिङ र जिप फलायर गर्नुको मज्जा बेग्लै छ । त्यस्तै, अल्ट्रालाइट उडान पनि पोखरामा गर्न पाइन्छ ।

लुम्बिनी

भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । घुमफिर गर्न लुम्बिनी उत्तम गन्तव्य हुन सक्छ । भैरहवाबाट नजिकै रहेको लुम्बिनी विश्वभर चर्चित छ । पछिल्लो समय विदेशी मात्र होइन, नेपालीको पनि लुम्बिनीमा बाक्लो उपस्थिति देखिन थालेको छ । यहाँको प्रमुख आकर्षण भनेको मायादेवी मन्दिर हो ।

लम्जुङको घलेगाउँ

लमजुङको घलेगाउँ ग्रामीण पर्यटनका लागि प्रसिद्ध छ । होमस्टेमार्फत सेवा दिने घलेगाउँमा आतिथ्य सत्कार लोभलाग्दो छ । घलेगाउँ एकपटक पुग्नैपर्ने ठाउँ हो । राजधानीबाट एकै दिनमा पुग्न सक्ने गन्तव्य हो घलेगाउँ । प्रतिव्यक्ति १० हजार रुपैयाँले तीन दिन सो क्षेत्रमा घुम्न सकिन्छ । घरबासको व्यवस्था भएकाले कुनै समस्या छैन ।

पाथिभरा देवी

धार्मिक हिसाबले निकै प्रख्यात रहेको पाथिभरा देवी मन्दिर ताप्लेजुङमा पर्छ । समुन्द्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको यो मन्दिर परिसरमा बास बस्न उपयुक्त स्थल नभएकाले फेदीमा बास बस्नुपर्ने हुन्छ । फेदीबाट ३ घण्टाको पैदल यात्रापश्चात् पुग्न सकिन्छ पाथीभरा मन्दिर । यहाँका लागि ६ दिनको समय उपयुक्त हुने गर्छ ।

पुनहिल

धौलागिरिलगायत दर्जनौं हिमाल आँखैअगाडि हेर्न सबैभन्दा उपयुक्त स्थल हो, म्याग्दीको पुनहिल । समुन्द्री सतहबाट करिब ३ हजार मिटर उचाइमा अवस्थित पुनहिलबाट माछापुछ«े, अन्नपूर्णलगायतका हिमाल देख्न पाइन्छ । यो क्षेत्र विश्व प्रख्यात अन्नपूर्ण पदयात्रा निस्कने पर्यटकहरूको जाने बाटोमा समेत पर्छ । पोखराबाट नयाँ पुलसम्म सवारीसाधनमा त्यसपछि पदयात्रा सुरु हुन्छ ।

रारा

रारा नेपालको सबैभन्दा ठूलो ताल हो । दुई वटा जिल्लालाई समेटेर वि।सं। २०३२ मा रारा तालकै नाम राखेर रारा राष्ट्रिय निकुन्जसमेत स्थापना भएको हो । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित तालको प्रमुख विशेषता भनेको छिनछिनमा पानीको रङ परिवर्तन हुनु हो । पानीको रङ परिवर्तनबाहेक तालमा तीन प्रजातिका माछा पाइन्छन् ।

यो तालको लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर हुनुका साथै गहिराइ १ सय ६७ मिटर छ भने तालको क्षेत्रफल करिब ११ किलोमिटर छ । हिँडेरै फन्को मार्ने हो भने ५ घण्टा लाग्छ । रारा पुग्न नेपालगन्जको राझा विमानस्थलबाट मुगुको ताल्चासम्मको हवाई यात्रा हुन्छ । त्यसपछि सुरु हुन्छ, पैदल यात्रा ।

घान्द्रुक

अन्नपूर्ण पदमार्गका क्रममा पर्ने रमणीय स्थल हो–घान्द्रुक । यहाँको प्राकृतिक सौन्दर्यले आगन्तुकको मन सजिलै लोभ्याउँछ । यहाँबाट माछापुच्छर्रे अन्नपूर्ण हिमाललाई नजिकबाट नियाल्न सकिन्छ । मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, ङयोवराह ताल यहाँका थप आकर्षण हुन् । काठमाडौबाट दुई दिनको यात्रामा घान्द्रुक पुग्न सकिन्छ ।

राजधानीबाट पहिलो दिन पोखरामा गएर बास बसेर भोलीपल्ट पोखराबाट एक दिनको यात्रा गरेपछि घान्द्रुक पुग्न सकिन्छ ।