पाँचथर । सँगुरको मासु खाँदा जिल्ला कारागार पाँचथरमा कैद भुक्तान गरिरहेका एक कैदीबन्दीको ज्यान गएको छ भने ३ जनाको अवस्था गम्भीर छ ।

आइतबार राति सुँगुरको मासु खाएपछि बिरामी परेकोले सोमबार बिहान जिल्ला अस्पताल पाँचथरमा भर्ना गरिएका पाँचथरको फालेलुङ गाउँपालिका-८, याङनामका २५ वर्षीय बुद्धि केरुङको सोमबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो ।

सँगुरको मासु खाएर ३ जना सिकिस्त बिरामी भएका छन् । बिरामी हुनेहरुमा फिदिम नगरपालिका-१०, याङनामका जयप्रकाश जवेगु, कुम्मायक गाउँपालिकाका दिनेश खजुम र पहिलेको सिदिन गाविसका सुन्दर राई रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि झापा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

दशैँको अवसरमा कारागार भित्रै सुँगुर ल्याएर काटेको र मासु खाएका उनीहरुलाई सुरुमा झाडापखाला लागेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा केरुङको सोमबार दिउँसो ३ बजे मृत्यु भएको पाँचथर प्रहरीका सूचना अधिकारी अनिलकुमार पौडेलले बताउनुभयो । केरुङ जबरजस्ती करणी मुद्धामा ३ वर्ष अघिदेखि कैद भुक्तान गरिरहेका कैदीबन्दी हुन् । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।