0 Shares

अर्जुनधारा । झापामा पैनीमा डुबेर एक बृद्धको मृत्यु भएको छ । त्यस्तै, पौडी खेल्दा एक युवक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पैनीमा डुबेर बुद्धशान्ति गाउँपालिका-२ हात्तीकिल्ला सिरान गाउँस्थित सोमनाथ लुईटेलको घरमा काम गरी बस्ने ७१ वर्षीय बृद्ध भक्ति लोहारको मृत्यु भएको हो ।

घर नजिकैको खेतमा सिँचाई गर्ने क्रममा पैनीमा डुबेर वृद्ध लुइँटेलको मृत्यु भएको भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी कचनकवल गाउँपालिका २ स्थित मेची खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । सोही गाउँपालिका-२ बस्ने शङ्कर ढुङ्गानाको १८ वर्षीय छोरा सौरभ ढुङ्गाना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

प्रहरीका अनुसार साथीहरूसँग आइतबार दिउँसो मेची नदीमा पौडी खेल्ने क्रममा उनलाई नदीले बगाएको हो । बगाएर बेपत्ता भएका ढुङ्गानाको सीमा प्रहरी चौकी केचना र स्थानीयवासीले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ ।