प्रकाश नेपाल,
इलाम । इलाम सदरमुकामका स्थानीयले भोग्दै आएको पानीको समस्या हट्ने भएको छ । इलाम बजार तेस्रो साना सहरी खानेपानी आयोजनाको कामले गति लिएसँगै यस क्षेत्रमा खानेपानीको आपूर्ति सहज हुने भएको हो ।

इलाम बजारमा तेस्रो साना सहरी खानेपानी आयोजनाको कामले तीव्रता लिएसँगै स्थानीय उत्साहित बनेका छन् । ८५ करोड रुपैयाँको लागत रहेको बृहत खानेपानी आयोजनाको काममा उत्साहजनक प्रगति भएसँगै खानेपानीको समस्या हट्ने विश्वासमा स्थानीय उत्साहित बनेका हुन् ।

एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा गत मार्चमा ठेक्का सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गर्ने उल्लेख छ । छोटो समयमै आयोजनाको २० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

कार्यालय व्यवस्थापन, पाइप खरिद, माटो परीक्षण, कर्मचारी व्यवस्थापनलगायतका काम भइसकेका छन् । काम समयमै पूरा गर्न खानेपानी ट्यांकी र पाइपलाइनको काम धमाधम भइरहेको आयोजनाका फिल्ड इन्चार्ज प्रमुख कपिलदेव यादवले जानकारी दिए ।

यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । खानेपानी ल्याउनका लागि यसअघि प्रतिघरधुरी १५ हजार २०० रुपैयाँका दरले शुल्क उठाइएको छ । आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका तीनवटा खोला र भाँडीखोलाबाट पानी ल्याइने तयारी छ ।

प्रतिसेकेन्ड ४१ लिटर पानी आउने भएकाले यस आयोजनाले खानेपानीको समस्या समाधान हुने भन्दै स्थानीयमा उत्साह पैदा भएको छ । समयमै काम सम्पन्न गर्ने संकेत देखाएपछि आयोजनाप्रति स्थानीय आभारी बनेका हुन् ।