बिर्तामोड । कोचिला गाभुर फ्रन्टको आयोजनामा झापाको बिर्तामोडमा प्रथम अन्तर्राष्ट्रिय कोच सांस्कृतिक युवा सम्मेलन हुने भएको छ ।

नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुका युवाबीच अनुभव आदान प्रदान, सांस्कृतिक, शैक्षिक गतिविधि आदान प्रदान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

कनकाई नगरपालिका वडा नं ९ को आर्थिक सहयोगमा यही कात्तिक २ र ३ गते बिर्तामोडस्थित सिटी पार्टी प्यालेसमा हुने सम्मेलनमा नेपाल र भारतमा कोच समुदायमा काम गरिरहेका १२ वटा संघसंस्थाहरुका ५० जना युवा प्रतिनिधि र अन्य पर्यवेक्षक गरी २ सयभन्दा बढीको सहभागिता रहने उनले बताए ।

सम्मेलनमा १२ वटा संघसंस्थाहरुका युवा प्रतिनिधिले विविध विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै नेपाली राष्ट्रियता झल्कने नृत्य, कोच संस्कृति झल्कने नृत्य, पुस्तक प्रदर्शनी, हस्तकला सामग्रीको प्रदर्शनी, कोच समुदायका ऐतिहासिक फोटो प्रदर्शनी गरिने उनले बताए ।

नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भ पारेर झापाको बिर्तामोडमा आयोजना गरिएको सम्मेलनले प्रदेश नं १ को पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा मद्दत पुर्याउनुका साथै भारतका युवालाई नेपाल घुम्न आउने वातावरण बनाउने उनले बताए ।