अर्जुनधारा । अर्जुनधारा ५ स्थित कञ्चनबारीमा रहेको लक्ष्मीनारायण मन्दिरमा बुधबारदेखि सप्ताहव्यापी श्रीमद् भागवत महापुराण सुरु भएको छ । पुराणको उद्घाटन अर्जुनधाराका अग्रज तथा समाजसेवी कृष्णप्रसाद मिश्रले गरेका थिए ।

उद्घाटनअघि मन्दिरबाट निस्केको शोभायात्राले अर्जुनधारा जलेश्वरधामहुँदै शनिश्चरे बजारको परिक्रमा गरेर पुनः मन्दिरमा पुगेर टुंगिएको थियो । पुराण आयोजक समितिका संयोजक कृष्ण पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरका ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारतीलगायतले आफ्ना भनाइ राखेका थिए ।

कात्तिक ६ गते समापन हुने महापुरणमा कथा प्रवचन भागवत भुषण पण्डित उदयनाथ दाहाल तथा कथा पाठ पण्डित उपेन्द्र दाहालले गर्नेछन् । पितृ उद्धारार्थ तथा मन्दिरका श्रीवृद्धि गर्ने उद्देश्यले महापुराण आयोजना गरिएको सञ्चार संयोजक कौशल कान्छोले जानकारी दिए ।