सुनसरी । सुनसरीको कोशी टप्पुबन्य जन्तु आरक्षबाट निस्केको जंगली हात्तीले आक्रमण गर्दा मानिसको ज्यान गएको र केही घाईते भएको भन्दै स्थानीय आन्दोलित भएकाले आरक्षको हात्तीसारको हात्ती अन्यत्र सारेको छ । पछिल्लो पटक सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ पश्चिम कुशाहाका एक जना हात्ती आक्रमणमा परी गम्भीर घाईते भएकाले स्थानीयलाई थामथुम पार्नका लागि हात्तीसारको हात्ती सप्तरीतर्फ सारेका छन् ।

सुनसरीतर्फ केही वर्षयता लगातार रुपमा हात्ती आतंक बढेकाले आरक्षको कार्यालय परिसरमा रहेको हात्ती सारका सात हात्ती सप्तरीतर्फ सारेको हो । आरक्षको हात्तीसारमा रहेका सबै हात्ती पोथी भएकाले भाले जंगली हात्ती आएको भन्दै स्थानीयको आक्रोस र आरोप बढेपछि आरक्षले केही समयका लागि आरक्षकै सप्तरीतर्फको फत्तेपुरमा सारेको छ ।

आरक्षले बुधबार दुई बच्चा हात्ती र पाँच माउ हात्तीसहित सात हात्ती सप्तरीको फत्तेपुरमा सारेको आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार आरक्षमा रहेको माकुने जंगली हात्तीको आक्रमणबाट गएको शुक्रबार राति ११ बजेको समयमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते हुनुभएकाले स्थानीयहरु आन्दोलनमा उत्रेको र प्रशासनको रोहबरमा सर्वपक्षीय छलफल हुदाँ तत्काल समस्या समाधानका लागि हात्ती सार्ने भनेकाले सारिएको हो ।

सात माहुतेसहित हात्तीसारको हात्ती सारिएको उहाँले बताउनुभयो । यादवलाई कोशीटप्पु वन्यजन्तु आरक्षणबाट निस्किएको जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाईते हुनुभएको थियो ।

घटना भएको दिन घाईतेका आफन्त र स्थानीयहरुले हात्ती नियन्त्रणको माग गर्दैै पूर्वपश्चिम राजमार्गको कोशी नहर चौक खण्डमा चक्काजाम गर्दै प्रदर्शन गरेका थिए भने जंगली जनावर आतंक रोक्नुपर्ने, गस्ती बढाउनुपर्ने, आरक्षबाट पीडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै स्थानीयवासीले कोशीटप्पु कार्यालय घेराउ गरेको थिए ।

आरक्षको कारणले कोशीका जनता सबैभन्दा बढी पीडित भएकाले हात्तीसार सानुपर्ने की त जंगली हात्तीलाई पूर्ण नियन्त्रण गर्नुपर्ने भन्दै दबाबका लागि घेराउ र चक्काजाम गरेकोमा आरक्षबाट सहमतिमा नै सार्ने काम भएको कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले बताउनुभयो ।