झापा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे बजार क्षेत्रमा दुले चोरको बिगबिगी बढेको छ । मोबाइल चोरीको घटनादेखि गरगहना र नगद चोरीको उजुरी शनिश्चरे प्रहरी चौकीले जनाएको छ । प्रहरीले घटनामा संलग्न ३ जनालाई चोरी मुद्दामा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

अर्जुनधारा ८ स्थित एम्स स्कुल पछाडि बस्ने देवीप्रसाद खत्रीको घरमा दिउँसै चोरी भएको थियो । घरमा कोही नभएको मौका छोपेर चोरले खत्रीको घरबाट सुनको सिक्री, झुम्का, औँठीसहित नगद चोरी गरेको जाहेरी चौकीमा दिएका थिए । करिब २ तोलाबराबरको सुनका गरगहना र ८० हजार नगद चोरी गरेको आशंकमा प्रहरीले ५ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

पक्राउ परेकामध्ये तीन जनाको संलग्नता देखिएको शनिश्चरे चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक पुनकुमार चौधरीले बताए । उनका अनुसार हजारी भनिने सन्नी राय, शौरभ चौधरी र आकाश देवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । पक्राउ परेका अभियुक्तले अन्य दुई जनाको संलग्नता नरहेको जनाएपछि प्रहरीले रिहा गरेको बताइएको छ ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दा अर्जुनधारा नगरपालिकाको कार्यालय भवन पछाडि रहेको बाँसघारीमुनि खाल्डोभित्र गाडेको अवस्थामा प्रहरीले एउटा तिलहरी र करिब २० हजार रुपैयाँ शुक्रबार बिहान बरामद गरेको छ । पक्राउ परेकामाथि अहिले चोरी मुद्दामा आवश्यक कानुनी कारबाही भइरहेको इप्रका अनारमनीका प्रहरी नायव उपरीक्षक मोहन थापाले बताए ।

यस्तै, अर्जुनधारा क्षेत्रमा ससाना चोरीका घटना भएको उजुरी चौकीमा आएको छ । चाडपर्वको मौका छोपेर मन्दिरको गजुर भाँच्ने, दान पेटिका फुटाएर चोरी गर्ने, पानी तान्ने मोटर चोरीका उजुरी आएको शनिश्चरे चौकीका प्रनानि चौधरीले जानकारी दिएका छन् ।

उनका अनुसार अर्जुनधारा ९ का हरिप्रसाद घिमिरेको घरमा जडित पानी तान्ने मोटर चोरी भएको छ । त्यस्तै, अर्जुनधारा ५ स्थित सरस्वती मन्दिरको गजुर चोरी गर्ने मनसायले भाँच्चिएको छ भने अर्जुनधारा ७ मा रहेको डांग्रे बाबा मन्दिरमा राखिएको दान पेटिका फुटाएर रकम चोरिएको पनि प्रहरीमा जानकारी आएको उनले बताए ।