अर्जुनधारा । स्थानीय बासिन्दाले अवरुद्ध गरेको शनिश्चरे-बिर्तामोड सडक खण्डको शनिश्चरे बजारदेखि कदमगाछीसम्मको अवरुद्ध सडक शुक्रबार अपराह्नदेखि खुलेको छ । सडकमा गुडेका गाडीका कारण धुलो उडेर स्वास्थ्यमा असर परेको भन्दै अर्जुनधारा-८ का बासिन्दाले नगरमा गुनासो गर्दै आज दिउँसो शनिश्चरे-बिर्तामोड सडक खण्डको ५ स्थानमा सडक अवरुद्ध बनाएका थिए ।

अर्जुनधारा ७ र ८ का बासिन्दाले शनिश्चरेहुँदै खुदुनाबारी र बिर्तामोड जाने सडकमा गाडी चल्दा हुने धुलोका कारण स्वास्थ्यमा समस्या आएको भन्दै नगरपालिकामा दैनिकजसो गुनासो गर्दै आएका थिए । तर, शुक्रबार भने स्थानीयले सडक नै अवरुद्ध बनाएपछि आवतजावतमा समस्या भएको थियो ।

स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्दै ८ नम्बर वडाध्यक्ष गोपीचन्द्र गौतमले उक्त सडक खण्डमा पानी लगाउने सहमति जुटाएपछि अवरुद्ध सडक खुलेको बताए । उनका अनुसार वडाको बजेटबाट १० दिनसम्म बिहान बेलुका ट्यांकरबाट पानी लगाएर धुलो कम गर्ने प्रयास गरिनेछ । उनले १० दिनभित्र सम्बन्धित कार्यालयमार्फत सडक निर्माणका पहल गरिने बताए ।

स्थानीय बासिन्दाको गुनासो आउन थालेपछि नगर प्रमुख हरिकुमार रानाको नेतृत्वमा शुक्रबार बिहान ८ का वडाध्यक्ष गौतमलगायतको टोली सडक डिभिजनको कार्यालय दमक पुगेर समस्या राखेको थियो ।

तर, सडक निर्माणका लागि ठेक्का लागे पनि माणपदण्डअनुरुपको जग्गा खाली नभएकाले निर्माण कार्य अघि बढाउन समस्या भएको सडकको भनाइ रहेको बताइएको छ ।

वडाध्यक्ष गौतमका अनुसार आज साँझदेखि नै धुलो प्रभावित शनिश्चरे बिर्तामोड सडक खण्डमा वडा कार्यालयले ट्यांकरमार्फत पानी हाल्ने काम थालेको छ । वडाले पानी हाल्ने काम गरेपछि स्थानीय सरोकारवाला बासिन्दाले राहत महसुस गरेको सामाजिक सञ्जालमा पोस्टसमेत गरेका छन् ।