खुदुनाबारी । कुवेतमा मृत्यु भएकी गीता दर्जीको परिवारलाई काठमाण्डौबाट शव झापा ल्याउनका लागि बुढी सुखानी प्रवासी सुखानी सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ ।

समाजले शुक्रवार सुखानीमा एक कार्यक्रमको आयोजना गरी मृतक दर्जीको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गरेको हो । त्यस्तै संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कतारले १० हजार २५ रुपैयाँ सहयोग गरेको छ ।

बुढी सुखानी महिला समुहकी अध्यक्ष गंगादेवी वास्कोटाको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि संघीय लिम्बुवान मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इङबुङ रहेका थिए ।

कार्यक्रममा मृतक दर्जीका ससुरा खिनमान दर्जीलाई प्रमुख अतिथि राना र विशिष्ट अतिथि इङबुङ्गले सो सहयोग रकम हस्तान्तरण गरेका थिए । त्यसैगरी एलम्वर टाइम्सका सम्पादक दिपिन राईले २ हजार ७ सय सहयोग गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा नगर कार्यपालिका सदस्य सिताराम भट्टराई, संघीय लिम्बुवान मञ्च नेपालका झापा अध्यक्ष धनबहादुर पन्धाक, अर्जुनधारा सेवा समाजका उपाध्यक्ष गणेश दुलाललगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन ओमप्रकाश सिटौलाले गरेका थिए । दर्जीको मृत्यु असोज १३ गते कुवेतमा भएको थियो ।